देशभर बदली, थप दुई दिन वर्षा हुने अनुमान

नवनारी
२३ वैशाख २०८२
200 Views

काठमाडौं । पछिल्लो एक हप्ता यता देशभरको मौसममा बदली आइरहेको छ । सामान्यतया देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षाको प्रक्षेपण गरेको छ । अहिले नेपालको मौसममा विभिन्न पानी पार्ने प्रणाली सक्रिय छन् । पछिल्लो समय बंगालको खाडीबाट उच्च जलवाष्पयुक्त हावा आइरहेको छ । त्यस्तै अरब सागरबाट पनि जलवाष्पयुक्त हावा आइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । त्यसका अतिरिक्त पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु पनि सक्रिय छन् ।

त्यसैको प्रभावले ६–७ घन्टादेखि देशका पूर्वी र मध्य भागमा वर्षा भइरहेको छ । विशेषतः कोशी र मधेस प्रदेशमा उल्लेख्य वर्षा भयो । अहिले पनि कोशी, मधेस र लुम्बिनी प्रदेशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो एक घन्टामा दाङको पदमपुर क्षेत्रमा ८.२ मिलिमिटर वर्षा भएको छ । आज देशका अधिकांश भूभागमा वर्षा हुने प्रक्षेपण मौसम विभागले गरेको छ । मौसमविद् गोविन्द झाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताए ।

यो क्रम बिहीबारसम्म जारी रहने पनि उनले बताए । बुधबार देशका पहाडी भूभागमा मध्यम वर्षा हुनेछ । बिहीबार पनि यही सम्भावना रहेको उनले बताए । ‘लगातार झरी पर्ने त होइन । रोकिँदै पर्ने सम्भावना छ । बिहीबारसम्मै देशका अधिकांश स्थानमा आंशिक बदलीदेखि पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ उनले भने ।

मौसमविद् विनोद पोखरेलले पनि आगामी दुई दिनसम्मै वर्षाको सम्भावना देखाएका छन् । विभिन्न मोडलहरूले आगामी दुई दिनसम्म वर्षा हुने देखाएको उनले बताएका छन् । मनसुन सुरू हुन करिब एक महिना बाँकी रहेको छ । यस वर्षको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने र विशेष गरेर सुदूरपश्चिम प्रदेशमा उल्लेख्य वर्षा हुने प्रक्षेपणहरू आइरहेका छन् ।


धेरै पढिएको