संसदमा उठ्‌यो भारत–पाकिस्तान युद्धको बिषय, नेपालको धारणा के ?

नवनारी
२५ वैशाख २०८२
308 Views

काठमाडौँ । प्रतिनिधिसभाको जारी बैठकमा भारत–पाकिस्तान युद्धको बिषय उठान भएको छ । नेपाली कांग्रसेसका सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्ने बताए ।

उनले भने,‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’ उता, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललगायतले भारत–पाकिस्तान युद्धमा सरकारको धारणा माग गरेका हुन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोप्रति असन्तुष्टिसमेत जनाएका छन् । ‘भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गर्दछु’ उनले भने ।

नेपाल सरकारको धारणा के ?

पछिल्ला दिनहरुमा भारत र पाकिस्तान बिचको बढ्दो तनावपूर्ण अवस्था बुधबार देखि झनै चर्कीएको छ । गएको अप्रिल २२ मा भारतको जम्मु कश्मीर स्थित पहलगाम भएको आतंकबादी हमलामा एक जना नेपाली सुदिप न्यौपाने सहित २६ जनाको हत्या भएको थियो । उक्त घटनाको बदला स्वरुप भारतले ‘अप्रेसन सिन्दुर’ नाम दिएर ७ मे २०२५ को रातको करिब साढे एक बजे पाकिस्तानका ९ वटा क्षेत्रलाई निसाना बनाएर मिसाएल प्रहार गरेको थियो । जसमा अहिले सम्म ३१ जनाको मृत्यु भएको पुष्टी भएको छ । त्यस यता भारत र पाकिस्तानको युद्ध झनै चर्कीएको छ । सीमा क्षेत्रमा गोलाबारी भइरहेका छन् भने सीमा आसपासका क्षेत्रका विद्यालयहरु संघ संस्थाहरु बन्द भइरहेका छन् ।

पाकिस्तान र भारत बिचमा भएको बढ्दो तनाबलाई लिएर विश्वभरका देशहरुले आफ्नो धारणा राखिरहेका छन् । अमेरिकाले बढ्दो तनाब चाँडै अन्त्य हुने विश्वाल लिएको छ । अमेरिकी राष्ट्रपति डोनाड ट्रम्पले दुवै देश संग संवादको लागि पहल गर्न सक्ने बताएको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले बताएका छन् ।

चीनले भारतको आक्रमणलाई खेदजनक भनेको छ । यसैबिच घटनाबारे नेपाल सरकारले आफ्नो धारणा व्यक्त गरेको छैन् । घटनालाई नजिकबाट नियालीरहेका नेपालका विभिन्न राजनीतिक दलका केहि सिमित नेताहरुले आफ्नो धारणा राखेपनि नेपाल सरकारको आधिकारीक धारणा भने सार्वजनिक भएको छैन् ।

यसैबिच नेपाल समाजवादी पार्टीले भारतले पाकिस्तानका ९ वटा आतंककारीस्थलमा सुरु गरेको अपरेशन सिन्दुर अन्तर्गत आतंकारीहरूमाथि गरेको आक्रमणलाई समर्थन गरेको छ । महेन्द्र राय यादव अध्यक्ष रहेको नेसपाले आज एक विज्ञप्ति जारी गर्दै भारतले सुरु गरेको अपरेशन सिन्दुरको समर्थन गरेको हो ।

यता माओवादी केन्द्रका नेता जनार्दन शर्माले फेसबुधका स्टाटस लेख्दै आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको भन्दै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवस्यक भएको बताएका छन् ।


धेरै पढिएको