नागढुंगामा प्रहरी जवानलाई थप्पड हान्ने ट्राफिक इन्स्पेक्टरमाथि अनुसन्धान सुरु

नवनारी
१ जेठ २०८२
212 Views

काठमाडौं । काठमाडाैँ प्रवेश गर्ने मुख्य नाका नागढुंगामा बुधबार ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानमाथि थप्पड हानेको भिडियो एकाएक भाइरल भयो । भिडियोमा प्रहरीको चरम आलोचना भएपछि अहिले ट्राफिक प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर र प्रहरी जवानमाथि प्रहरीले सोधपुछ गरिरहेको छ ।

भिडिओ भाइरल भएसँगै ट्राफिक प्रहरी कार्यालय काठमाडौं उपत्यका ट्राफिक कार्यालयले ट्राफिक प्रहरी इन्स्पेक्टर जितेन्द्र कुमार साहलाई बोलाएर सोधपुछ गरिरहेको छ भने प्रहरी जवान मदन खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोधपुछ गरिरहेको छ । उनीहरू दुवै जनालाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार प्रहरी जवानले आर्थिक लेनदेन गरेको हुनाले ट्राफिक प्रहरी इन्स्पेक्टरले थप्पड हानेको बताएका छन् । तर यसबारे थप सोधपुछ भइरहेको छ । ‘एक पक्षको मात्र कुरा सुनेर हुँदैन । दुवै पक्षबीच सोधपुछ चलिरहेको छ,’ एसपी गिरीले भने । ट्राफिक प्रहरीलाई अहिले नागढुंगाबाट कार्यालयमा राखिएको छ । अनुसन्धानपछि मात्र उनीमाथि कारबाही हुने/नहुने थाहा हुने एसपी गिरीले जानकारी दिए ।


धेरै पढिएको