स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच सेवा विस्तार गर्न सम्झौता

नवनारी
२ जेठ २०८२
210 Views

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय र संघबीच गरिएको सम्झौताअनुसार अब संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ ।

शुक्रबार मन्त्रालयमा उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा मन्त्रालयका तर्फबाट स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेल र नेत्रज्योति संघको तर्फबाट महासचिव भरतबहादुर चन्दले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार मन्त्रालयले नेत्रज्योति संघबाट कार्यक्रम संचालन भइरहेका जिल्लाहरूमा आँखा उपचार सेवा कार्यक्रम संचालनको लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ भने नेत्रज्योति संघले नेपालमा आँखा स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानहरूमा आँखा उपचार सेवा विस्तार गरी लक्षित समूहलाई थप सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ ।

त्यसैगरी मन्त्रालयले नेपालको आँखा उपचार क्षेत्रलाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने, नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका आँखा स्वास्थ्य सम्बन्धि जनशक्तिहरूलाई आवश्यकता अनुसार नेत्रज्योति संघ अन्तरगतका अस्पतालमा खटाउन सक्ने र प्रचलित नियम कानुन अनुसार तथा जनसंख्या मन्त्रालयबाट भन्सार छुट लगायतका विषयमा सहजीकरण गरिने छ ।


धेरै पढिएको