काठमाडौँ सहित देशका विभिन्न क्षेत्रमा वर्षा, केहि दिन निरन्तर वर्षाको सम्भावना
काठमाडौं । अहिले काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रमा सामान्य देखि केहि क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । नेपालमा मनसुन सुरु हुनै लाग्दा पछिल्ला केहि दिनयता छिटपुट मात्रामा वर्षा भइरहेको छ ।
नेपालको मौसम प्रणालीमा पश्चिमी वायु सक्रिय छ । यसका अतिरिक्त स्थानीय वायुको पनि प्रभाव देखिएको छ । पछिल्लो समय बंगालको खाडी र अरब सागरतिरबाट जलवाष्पयुक्त हावा आइरहेकाले नियमित वर्षा भइरहेको छ । देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पछिल्लो १२ घन्टामा स्याङ्जामा १११.४, चितवनको शक्तिखोरमा ९३.८, कास्कीको लामापाटनमा ५०, स्याङ्जाको मलुङ्गामा ४९.४ मिलिमिटर वर्षा भएको छ । देशका केही स्थानमा मध्यम वर्षा हुँदा नै क्षतिसमेत भएका छन् । काभ्रेपलाञ्चोकको पनौतीमा एक महिला बेपत्ता छिन् । वैशाख २९ गते गते रोशी तटीय क्षेत्रमा भेलबाढी आएको थियो । त्यहाँ शनिबार पनि बाढी आएको स्थानीयले बताएका छन् ।
मौसमविद् विनोद पोखरेलले अझै दुई साता वर्षाको निरन्तरताको प्रक्षेपण गरेका छन् । विभिन्न मोडलमार्फत् हावापानी प्रक्षेपण गर्ने उनले जेठको १८–२० सम्मै वर्षा हुने बताएका हुन् । यद्यपि नेपालमा मनसुन कहिले भित्रन्छ भनेर विभागले आधिकारिकरूपमा भनिसकेको छैन । मनसुनको सुरूवाती विन्दुमा उत्पत्ति भइसकेको र क्रमशः फलिँदै आएकाले नेपालमा सरदरभन्दा छिटो मनसुन भित्रने अनुमान भने गर्न सकिन्छ । नेपालमा साधारणतया जुन १० ९जेठ २७० मा मनसुन भित्रने गर्छ ।
‘आगामी दुई सातासम्म नेपालभरि सक्रिय मौसम र धेरै क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखाएको छ । वर्षा र हावाको ढाँचा मनसुनी वर्षा जस्तो देखिन्छ, यद्यपि यसलाई आधिकारिक रूपमा मनसुन भनिएको छैन,’ पोखरेलले भनेका छन् ।
प्रि–मनसुनयाममा सरदर नै वर्षा भइरहेको छ । साधारणतया प्रि–मनसुन फागुन १७ देखि जेठ १७ गतेसम्मको अवधिलाई भनिन्छ । यो अवधिमा सरदर २२६.३ मिलिमिटर वर्षा हुने अनुमान गरिन्छ । जेठ २ गतेसम्मको अवधिमा १५३.९० मिलिमिटर वर्षा भएको छ । यो भनेको सरदरको ६७।२ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस