आज दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
काठमाडौं । गत बिहीबारदेखि घट्दो क्रममा रहेको नेप्से सोमबार (आज) भने नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार अर्थात् सातौं दिन भने नेप्से बढेको हो । नेप्से १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा बन्द भएको छ । तर आज कारोबार रकम भने घटेको छ ।
आइतबार आठ अर्ब ५० करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार सात अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १५ करोड रूपैयाँ कमी आएको हो । आज ३२४ वटा धितोपत्रको एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता सेयर किनबेच भएको हो । सोमबार १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटाको घटेको छ । यस्तै, दुई कम्पनी स्थिर रहेको छ ।
यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यस्तै, सिन्धु विकास बैंक र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ र तेह्रथुम पावरको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
यस्तै, विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४४४ रूपैयाँमा झरेको छ । यस्तै, छ्याङ्दी हाइड्रोपावरको मूल्य ४।४० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३०४ रूपैयाँ ०१ पैसा कायम भएको छ । सोमबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ ।
कम्पनीको प्रतिकित्ता एक हजार ७२४ रूपैयाँमा ५९ करोड ७६ लाख रूपैयाँको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४.९२ प्रतिशत बढेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३१४ रूपैयाँ १० पैसामा ५१ करोड ७ लाख बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको १.२४ प्रतिशतले घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

प्रतिक्रिया दिनुहोस