भाईरल भन्दा पनि गहन शब्द र म्युजिककाे लयमा रमाईरहेकी अञ्जु

बुवाको प्रेरणाले गायन क्षेत्रमा निरन्तर अघि बढेका उनका पाईला

नवनारी
२२ जेठ २०८२
826 Views

काठमाडौँ । प्रविधिको तिव्र विकास संगै पछिल्ला केहि वर्ष यता नेपाली म्युजिक क्षेत्रमा छुट्टै आयाम थपिएको छ । कलाकारहरुले नयाँ–नयाँ गीत संगित दर्शन, श्रोतामाझ ल्याइरहेका छन् । सामाजिक संजालको कारणले नेपाली म्युजिक क्षेत्र पनि ग्लोबल रुपमा विकास हुँदै गएको छ । यधपी सामाजिक संजालका थुप्रै सकारात्मक फाइदा संग संगै केहि नकारात्मक फैलावट पनि भएको पाइन्छ । तर पनि दिनप्रतिदिन भइरहेको म्युजिकको बढ्दो विकास, नयाँ नयाँ कलाकारको उदयले नेपाली म्युजिक साँच्चै नै नयाँ उचाईँको पुगेको गायिका अञ्जु क्षेष्ठ बताउँछिन् । विगत ११ वर्ष देखि म्युजिक क्षेत्रमा सक्रिय रहेकी श्रेष्ठका थुप्रै गीतहरु नेपाली बजारमा आइसकेका छन् । बजारमा चलनचल्तिका गीतहरु भन्दा पनि आफ्नै गहन शब्द, भाब सहित केहि फरक गीत संगित गर्न आफुलाई मन पर्ने उनी बताउँछिन् । हालसालै उनको नयाँ गजल गीत ‘यो माया नि कस्तो’ बजारमा आएको छ । गायिका क्षेष्ठ संग उनको म्युजिक यात्रा, आगामी यात्रा, वर्तमान कार्यहरुमा रहेर नवनारीका लागि वसन्त भण्डारीले गरेको कुराकानी अंशः

म्युजिक क्षेत्रमा तपाईको यात्रा कसरी सुरु भएको थियो ?

म सानै देखिबाट विद्यालयमा गीत गाउँथे । साथी भाईहरुले एकदमै हैसला दिनुहुन्थ्यो, एकदमै राम्रो छ तिम्रो आवाज भनेर भन्नुहुन्थ्याे । त्यति मात्र होइन् शिक्षकहरु अझ विशेष गरी मेरो बुवाले एकदमै हैसला दिनुहुन्थ्यो । मेरो बुवाको सपना पनि थियो की मैले म्युजिक क्षेत्रमा केहि गरेको हेर्ने । आज म गायिकाको रुपमा छु त्यो उहाँहरुकै कारणले हो । आज गायिका भएर यसरी चिनिनु पनि मेरो बुवाको कारण हो । अहिले मेरो बुवा यो संसारमा त हुनुहुन्न । उहाँको अन्तिम इन्छा नै त्यहि थियो जुन दिन उहाँले यो संसार छोड्नुभयो, त्यो दिन उहाँको प्रश्न नै म माथि याे थियो तिमीले कहिले गीत गाउने ? तिमीलाई कहिले मैले यसरी टिभिमा हेर्ने ? उहाँलाई म जिस्किदै भन्थ्ये अब यो वर्ष पक्कै पनि गीत निकाल्ने भनेर भन्थ्ये । तर त्यसको करिव आधा घण्टा पछाडी हामी बावु छोरी कहिल्यै नभेटिने गरि छुट्टिन पर्यो ।

अहिले पनि मलाई के हुन्छ भने बाँचुञ्जेल उहाँको इच्छा थियो की आफ्नो छोरीले गायको सुन्ने, हेर्ने त्यो इच्छा मैले उहाँ रहदै पुरा गर्न पाएन भन्ने खिट्को सधैभरी मनमा रहिरहेको छ । सायद यो म बाँचुञ्जेल नै पर्छ होला । उहाँकै इच्छा पुरा गर्न भनेर मैले उहाँ बितेको छ महिना नबित्दै २०७२ साल तिर रातोसारी भन्ने तिजको गीत गरेको थिए । त्यहि देखि मैले नेपाली म्युजिक इन्डस्ट्रिजमा आफ्नो पाइला चालेको थिए । मेरो पहिलो गीत नै मेरो आफ्नै शब्दमा थियो । मेरो आवाज रेकर्ड गराउँदा खेरी नयाँ अनुभव भएको थियो । गाउन त म पहिलाबाटै गाउँथ्ये तर त्यसरी रेकडिङ स्टुडियो मै जान्छु, टिभिमा आउँछु भन्ने कहिल्यै पनि सोचेको थिएन् । त्यो सपना पुरा भयो । मैले मेरो बुवाको सपना पुरा गर्ने पहिलो खुट्कीलोको सुरुवात यसरी गरेको थिए ।

त्यसपछि क्रमश आजसम्म ११ वर्ष भयो लगातार गीत संगित क्षेत्रमै लागेको छु । पछिल्लो समय पुरै समय म्युजिकमा दिन पाएको छैन् । पहिलो एल्बम गरीसकेपछि मैले म्युजिक कक्षाहरु पनि लिए । लगातार त्यो समय देखि आज सम्म प्रत्येक वर्ष मेरा तिजका गीतहरु निस्किन्छन् । आधुनिक, लोक, पप गीतहरु पनि मेरा छन् । हाल सालै मैले एउटा गजल गीत गाएको छु । जसमा आदरणीय भूपेन्द्र महत सरको शब्द, दिप घतानीको संगित र मेरो स्वर रहेको छ । मेरो आफ्नै युट्युव च्यानल (अन्जु क्षेष्ठ अफिसियल)बाट बजारमा आएको छ । ‘यो माया नी कस्तो कहिल्यै खुसी फिजाउँछ, यस्तै होला यसको रित, परेली भिँजाउँछ’ जस्ता शब्दहरु गीतमा रहेका छन् ।

नेपाली म्युजिक क्षेत्र २०७२ साल र अहिलेकोमा के फरक छ ?

अहिले धेरै फरक छ, किनकी त्यो समय त्यति धेरै गीत संगितहरु बजारमा आउँदैन थिए । अहिले त दिनमै सयौँ गीतहरु रेकर्ड हुन्छन् सयौँ रिलिज पनि हुन्छन् कत्तित हामीलाई थाहा पनि हुँदैन् । जसको गीत एकदमै चल्छ, एकदमै श्रोताले रुचाउनुहुन्छ भाईरल हुन्छन्, ति गीतहरु मात्रै थाहा हुन्छन् की बजारमा आएछ भनेर । कलाकारहरु हामीले आफ्नो लगानीमा गीत गरीराखेका हुन्छौँ । गीतको प्रमोशनमा पनि त्यत्ति कुद्न सक्दैनौँ र अझ त्यसमा अलि गहन शब्दहरु लिएर गीत गर्छौँ । भड्किलो शब्दहरु प्रयोग गर्दैनौँ । त्यस्तो गर्दा खेरी गीत संगित अलि नचल्दा केहि पछि परेको हो की भन्ने फिल हुन्छ ।

म्युजिक क्षेत्रमा सामाजिक संजालको प्रभाव कत्तिको पाउनुहुन्छ ?

सामाजिक संजालको प्रभाव एकदमै छ । विशेष गरी टिकटकमा कुनै पनि गीत हिट छ भने त्यो युट्युवमा पनि हिट हुन्छ । युट्युव सम्म गएर हेर्ने वातावरण टिकटकले बनाइदिएको छ । पहिला पहिला कुन नयाँ गित आयो भने युट्युवमा हेर्ने चलन थियो तर अहिले टिकटकमा जुन गीत अलि बढि चलेको छ त्यसपछि बल्ल युट्युवमा गएर हेर्ने चलन छ । यो सामाजिक संजालको राम्रो पक्ष हो तर नराम्रो पक्षहरु पनि छन । हामी कलाकारहरुको लागि राम्रो पक्ष पनि हो एउटा सानो १५ सेकेन्ड सम्मको गीतको लाइनले गर्दा खेरी पुरै गीत हिट हुन्छ । त्यसको प्लस पइन्ट पनि छ । तर त्यो टिकटकमा छोटो क्लिप हेरेकै भरमा मान्छेले गीतलाई जज गर्छन् त्यो फेरी त्यसको नराम्रो पक्ष हो । त्यसरी कुनै पनि गीतलाई हेरिदिनु हुँदैन किनभने लाखौँ लगानी गरेर गीत बनाएका हुन्छौँ । हामीले पाउने भनेको केहि पनि छैन् एउटा नामको लागि हो । युट्युवमा गएर हेरिदिनुभयो भने केहि पैसा पनि आउँला नत्र भने केहिपनि छैन् ।

कुनै गीत लाखौँ खर्च गर्दा पनि नचल्ने कुनै सामान्य तरिकाले बनाउँदा पनि करडौँमा भ्यूज गइरहेको हुन्छ, यस्तो कसरी हुन्छ ?

त्यो चाँही एक हिसाबले समयको माग पनि होला जस्तो लाग्छ । हरेक गीतको पछि आ–आफ्नै अडिएन्स हुन्छ, जस्तैः गजल सुन्नेको छुट्टै जमात छ, लोकगीत सुन्नेको छुट्टै जमात छ, आधुनिक गीत सुन्नेको छुट्टै जमात छ । अहिले कस्तो भइदियो भने यो सोसल मिडियाले गर्दा मानिसहरु अलिकति भड्कीलो गीत गरेपछि भाइरल हुन्छ भन्ने लाइनमा पनि छन् । जस्तै राम्रो कामको चर्चा हुँदैन नराम्रो कामका् एकदमै चर्चा हुन्छ भने जस्तै पनि हो त्यस कारणले गर्दा खेरी हामीलाई के लाग्छ भने म्युजिक क्षेत्रमा कुनै एक जनाले त्यस्तो गरिदिँदा खेरी पुरै म्युजिक क्षेत्रलाई नै प्रभाव पर्छ जस्तो लाग्छ । त्यो नगर्नुपर्ने हो, यो मेरो सुझाव पनि हो । संगितका विभिन्न संघ संस्थाले त्यो चाहेको अवस्थामा रोक्न सकिन्छ । दर्शक श्रोताहरुलाई के भन्न चाहान्छु भने हरेक कलाकारको धेरै वर्षको संघर्ष हुन्छ, त्यसैले राम्रो शब्द भएको गीतहरु पनि सुनिदिनुभयो भने नराम्रो कुराले पक्कै पनि बजार पाउँदैनन् । जसले गहन शब्द लिएर गीत गाउनुहुन्छ जसले धेरै वर्ष देखि साधना गरेर आउनु भएको छ । उहाँहरुले पनि ठाउँ पाउनुहुन्छ ।

इन्टरनेटले नेपाली गीत संगितलाई पनि विश्व बजारमा पुर्यायो, यसलाई कसरी हेर्नु हुन्छ ?

त्यो नेपाली गीत संगितको प्रगती नै मान्नुपर्छ, किनभने टिकटककै माध्यामबाट कति विदेशीले मनपराइदिनुभएको छ । भिडियो बनाइदिनुहुन्छ, अहिले त धेरै जना विदेशीले नेपाली गीतहरु पनि गाइराख्नुभएको छ । नेपाली भोकललाई लिप्सिङ गरेर विदेशी आटिस्टहरुले पनि भिडियो बनाइराख्नु भएको छ त्यो भनेको के हो भने नेपाली गित संगितले पनि अन्तराष्ट्रिय बजारमा एउटा छाप छोड्दै छ जस्तो लाग्छ ।

नेपाली गीत विदेशमा जति बज्छ त्यसको दोब्बर मात्रामा विदेशी गीत नेपालमा बज्छन्, यसले कलाकारलाई कस्तो कसर गर्छ ?

हो, एकदमै धेरै किनभने कुनै पार्टी प्यालेस, विवाह समारोह, अन्य समारोहमा हिन्दी गीतमै मान्छेहरु धेरै नाच्न रुचाएको पाउँछु । त्यो हामी नेपालीहरुकै कमजोरी हो जस्तो पनि लाग्छ । किनभने हामी आफ्नो देशलाई माया गर्छौँ भने आफ्नो भाषा, गीत संगितलाई पनि माया गर्नुपर्छ । हामीले नगरे कस्ले गर्ने ? हाम्रो नेपालमा विदेशी कुराले एकदमै छिटो प्रभाव पार्छ । हरेकले देशलाई जस्तै गीत संगितलाई माया गर्यौँ भने त्यो केहि कम हुन्छ ।

यधपी पछिल्लो समय नेपाली गीत संगितको प्रभाव देशका सबै क्षेत्रमा व्यापक रुपमा पनि परेको देखिन्छ । नेपाली गीतमै नाचेको पनि देखिन्छ । देशमा एकदमै धेरै ट्यालेन्ट कलाकारहरु पनि जन्मिराख्नुभएको छ । उहाँहरुलाई नै त्यो ठाउँ दिने हो भने पक्कै पनि उहाँहरुको मेहेनतले रंग ल्याउनेछ । नेपाली ट्यालेन्टलाई पनि चिन्ह्र सक्नुपर्छ जस्तो लाग्छ मलाई । साना तिना कुरामै पनि भारतबाट कलाकार ल्याउनुपर्ने अवस्था आउँदैन । नेपाली गीत संगितको उत्थान हुनु भनेकै नेपाली गाएक गायिकाको उत्थान हुनु हो ।

म्यूजिक क्षेत्रका जटिलताहरु के हुन् ?

जटिलताहरु एकदमै छन् । बाहिरबाट काठमाडाैँ आउने म्युजिक क्षेत्रमै केहि गर्छु कमाएर खान्छु भनेर सोचेर आउनेहरुको लागि गाह्रै छ । कि त एकदमै चर्चीत, स्टेज कार्यक्रमहरु, अरु गीतहरु पाउन सक्नुपर्यो । त्यसको लागि पनि समय लाग्छ नै । नत्र सुरुको यात्रा गाह्रो नै हुन्छ । कतिपय श्रष्ठाहरु हुनुहुन्छ जो फन्टमा आउनुभएको छैन तर म्युजिकमै लागेर कमाएर खाइराख्नुपनि भएको छ । नयाँलाई सिकेर बुझेर मात्रै यो क्षेत्रमा आउन अनुरोध गर्दछु । प्यासनको रुपमा आउनुहुन्छ, १,२ वटा गित रेकर्ड गर्नुहुन्छ त्यो आफ्नो ठाउँमा ठिकै छ तर यसैबाट जिविको पार्जन गर्छु भनेर आउनुहुन्छ भने एक पटक सोच्नैपर्छ । म्युजिक संगित लगायतका कुराहरु एकदमै महंङ्गो भइसकेको छ । बाहिरबाट हेर्दा कलाकारको जिवन एकदमै चमकझमक देखिन्छ तर त्यसमा धेरै दुखः मेहेनत लुकेको हुन्छ ।

तपाईको म्युजिकको यात्रा अब कसरी अघि बढ्छ ?

अहिले मैले पूर्ण रुपमा म्युजिक क्षेत्रलाई समय दिन पाएको छैन् । यदि त्यो सम्भव भयो भने आफ्नो जिवन म्युजिक मै बिताउन चाहान्छु । अहिले पनि मैले प्रत्येक वर्षमा एक/दुई गित त निकाली नै रहेको छु । मलाई लाखौँ करडौँ जनताले नचिने पनि म मर्दा खेरी मेरो एउटा गीत बजिदियोस् त्यो बेला म गायिका भएको पूर्णता पाउँछुहोला । त्यसको लागि म एकदमै हरदम मेहेनत गरीरहेको छु । दर्शक श्रोताको मनछुने गीत ल्याउने जमर्कोमा छु । चलन चल्तिका गीतहरु भन्दा पनि अलि फरक गित संगित गर्न मनपर्छ । अलिकति समसामयीक शब्द चयन गरेर बजारमा ल्याए भने पक्कै पनि बजार पाउँछ जस्तो लाग्छ । मेरो दशैँ भन्दा अगाडी एउटा डान्सिङ बिटमा गीत रिलिज गर्ने तयारी छ । यसपालीको तिज पनि नजिकिदै गएको छ । तिजको गीत गर्ने की नगर्ने भन्ने बिषयमा पनि सोचिरहेको छु ।

नेपाली म्युजिक क्षेत्र कसरी अघि बढ्नुपर्ला ?

म्युजिक क्षेत्र भनेको हाम्रो एउटा मन्दिर जस्तो हो । हामीले यहाँ कर्म गरीरहेका छौँ, त्यस कारणले यो मन्दिरलाई दुषित बनाउनु हुँदैन् । भड्कीलो गीत संगित लिएर आएर कोहिले त्यस्तो गर्छ भने हामी सबैको नाम मुछिन्छ । जस्तैः बोरामा भएका आलु मध्य एउटा कुहिएको अवस्थामा सबै कुहिएको जस्तो हो । त्यस कारणले हाम्रो काम गर्ने थलोलाई सुगन्धिन बनाऔँ । भाइरलको पछि नलागौँ त्यसको आयु धेरै हुँदैन त्यसैले सदाबहार गीत तर्फ लाग्न जरुरी छ । जसले सबै क्षेत्रमा ठाउँ पाउनेछन् ।


धेरै पढिएको