सामाजिक सञ्जाल आफ्नो ट्यालेन्ट शो गर्ने ठाउँ बनेको छ, यसको सहि उपयोग गर्नुपर्छ
पछिल्लो समय प्रविधिको विकास संगै कला संस्कृती क्षेत्र पनि दिनप्रतिदिन नयाँ उचाईँमा गइरहेको छ । टिकटक, फेसबुक, इन्टाग्राम लगायतका प्लेटफम मार्फत नयाँ–नयाँ प्रतिभाहरु नेपाली म्युजिक क्षेत्रमा प्रवेश गरीरहेका छन् । पुराना दिनहरु जसरी गीत संगित क्षेत्र प्रतिको लगाब संग संगै तालिम/कक्षाहरु लिएर, अग्रजबाट सिकेर काठमाडौँ नै आउनुपर्ने बाध्यता सामाजिक सञ्जालले धरै कम गरिदिएको छ । सामाजिक सञ्जाल ट्यालेन्ट शो गर्ने ठाउँको रुपमा विकास भइरहेको छ र यसलाई यसरी नै सकारात्मक रुपमा प्रयोग गर्नुपर्ने अभिनेत्री तथा मोडल झरना रिसाल बताउँछिन् । मोडलिङ तथा फिल्म क्षेत्रमा लगाप संग संगै सिकेर जानेर बुझेर अघि बढेको अवस्थामा सफल हुने उनी बताउछिन् । बिगत एक दशक भन्दा बढिको समय देखि नेपाली कला क्षेत्रमा आफ्नो योगदान दिइरहेकी उनले अहिले सम्म दर्जनौँ गीत संगित संगै नेपाली चलचित्रमा समेत आफ्नो अभिनय गरीसकेकी छन् । ती नै रिसाल संग नेपाली कला क्षेत्र, उनको अनुभव, भोगाई र वर्तमान लगायतका कुराहरु समेटेर नवनारीका लागि वसन्त भण्डारीले गरेको कुराकानीः
हिजो आज के मा व्यस्त हुनुहुन्छ ?
हिजोआज अलि बढि म म्युजिक भिडियो क्षेत्रमा व्यस्त छु । भिडियोमा अभिनय देखि लगेर फोटो सुट, कतिपय टिभि विज्ञापनका साथै चलचित्र तयारीमा लागिरहेकी छु ।
नेपाली कला क्षेत्रमा कसरी सुरुवात गर्नु भएको थियो ?
म प्युठानमा हुँदा खेरी हाम्रो बोर्डिङ स्कुल थियो । त्यो समयमा विद्यालयका बच्चाहरुलाई डान्स सिकाउनुपर्छ छोरी जाउ भनेर डान्स कक्षामा मलाई मेरो बुवाले भर्ना गरिदिनुभएको थियो । मैले पनि राम्रो तरिकाले सिके र बच्चाहरुलाई सिकाउन थाले । पछि यस क्षेत्रमा म एकदमै राम्रोे प्रतिक्रिया बटुल्दै गए । त्यसपछि प्यूठान, दाँङमा मैले केहि म्युजिक भिडियोहरुमा अभिनय गर्नै मौका पाँए । यसरी म दाङ केन्द्रीत भइरहेको थिए त्यसै बेला मेरो अंकल सुरेश हमाल जो अहिले अमेरिकामा हुनुहुन्छ उहाँले आफ्नै होम प्रोडक्टबाट चलचित्र ‘कसलाई आफ्नो’ निर्माण गर्ने कुरा भयो त्यसपछि मैले त्यो चलचित्रको मुख्य नायिकाको भुमिका निभाउने मौका पाँए । त्यसको लागि म काठमाडौँ आँएको थिए । चलचित्रबाट राम्रो फिटब्याक पाइसकेपछि मैले म्युजिक भिडियो त्यसपछि देश तथा विदेशमा स्टेज शो कार्यक्रम गर्ने मौका पाँए । अहिले झण्डै एक दशक बढि भयो म यो क्षेत्रमै लागिरहेकी छु ।

तपाइको सुरुवाती चरण र अहिले के फरक छ ?
सुरुवातका दिनहरुमा अहिले जसरी सामाजिक सञ्जालको व्यापक विकास भएको थिएन् । आफ्नो कला सहजै अहिले जसरी सामाजिक संजालमा राख्न सक्ने अवस्था थिएन् । त्यो बेला कक्षा लिनुपर्ने, छनोट हुनुपर्ने, कडा मेहेनत गर्नुपर्ने, काठमाडौँ नै आउनुपर्ने बाध्यता थियो, चुनौतीपूर्ण थियो । तर अहिले त जता हेरेपनि आफ्नो ट्यालेन्ट राख्ने ठाउँ छ । त्यो समय एकदमै कडा मेहेनत गर्नुपथ्यो । अहिले ट्यालेन्ट भएपछि राम्रो प्लेट फम पाउँछ भन्ने छ । कतिपयले सामाजिक सञ्जालमा भाइरल भएपछि पनि सहजै म्युजिक क्षेत्रमा स्थान समेत बनाएको पनि पाइन्छ ।
सामाजिक सञ्जालले कत्तिको प्रभाव पारीरहेको छ ?
सामाजिक सञ्जालको भूमिका एकदमै महत्वपूर्ण छ । सामाजिक संजालको कारणले नेपाली गीत संगीत पनि देश तथा विदेशका विभिन्न कुनामा फैलिएका छन् । टिकटक लगायतका माध्यामबाट अझ आफ्नो कलालाई प्रभावकारी ढंगले प्रस्तुत गर्न थप भुमिका निर्वाध गरेको छ । सामाजिक संजाल एउटा ट्यालेन्ट शो गर्ने ठाउँको रुपमा समेत विकास भइरहेको छ ।

गीत गाउने कलाकारहरु नै आफै गीत गाउने आफै अभियन गर्दा तपाईहरु जस्तो मोडललाई के कस्तो असर परीरहेको छ ?
असर भन्दा पनि जो मान्छे जे का लागि जन्मेको हो त्यो गर्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई । जस्तै म अभिनयको लागि हो मैले गाउन त सक्दैन् त्यसैले म अभिनय क्षेत्रमै लाग्नुपर्छ । अभिनय पनि गायन पनि दुई तिरै खुट्टा हाल्दा यता न उताको भइन्छ त्यसैले एउटै क्षेत्रमा फोकस हुँदा राम्रो ।
देशको कला क्षेत्र अहिले कुन स्टेजमा भएको पाउनुहुन्छ ?
नेपाली कला संस्कृति क्षेत्र अहिले त एकदमै एडभान्स भइसकेको छ । पढेर सिकेर जानेर बुझेर नयाँ नयाँ प्रतिभाहरु आइराख्नुभएको छ । पहिलाको जस्तो हचुवाको भरमा कोहि पनि आउँदैनन् । अहिले धेरै प्रविधिको विकास भइसकेको छ । यस्तो देख्दा मलाई एकदमै खुसी लाग्छ । पहिलाको भन्दा धेरै कुरामा परिवर्तन भएको छ । प्रविधिको विकासले यस क्षेत्रलाई थप सहज बनाएको छ ।
यो क्षेत्रमा टिकिरहनको लागि के गर्नुपर्छ ?
आज आयो भाईरल भयो भोली हराउने अवस्था भन्दा पनि राम्रो संग सिक्ने, परिपक्क रुपमा बरु विस्तारै आउने तर दिगो र बृहत रुपमा आउनुपर्छ ।

तपाईको आगामि यात्रा कसरी अघि बढ्छ ?
आगामि दिनमा म यहि क्षेत्रमा रहने छु । चलचित्र देखी लगेर नयाँ नयाँ भिडियो गर्ने तिर मेरो ध्यान केन्द्रीत हुन्छ । म अहिले पूर्ण रुपमा यहि क्षेत्रमा लागिरहेको छु । र आगामी दिनहरुमा यहि क्षेत्रमै थप सुधार गर्दै अघि बढ्नेछु ।
नयाँ आउने पुस्तालाई के सन्देश दिनुहुन्छ ?
एक छिनका भाइरल कन्टेन्ट भन्दा पनि कला संस्कृति अभिनयको बारेमा राम्रो संग सिकेर, जानेर, बुझेर आफु अब्बल भएर आएको अवस्थामा सफल पक्कै पनि भइन्छ । सामाजिक संजालबाट कमाएको चर्चालाई थप बलियो बनाउँदै व्यवसायीक रुपमा लाग्दा थप सहज रुपमा अघि बढ्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस