दीया पुनले गरिन् युरोपको सबभन्दा अग्लो हिमालको आरोहण
काठमाडौं । अभिनेत्री तथा पर्वतारोही दीया पुनले युरोपको सबभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको सफल आरोहण गरेकी छन् । मंगलबार बिहान १० बजे ५,६४२ मिटर उचाइको हिमालको शिखरमा पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । त्यहाँ उनले नेपालको झन्डा फहराएकी छिन् ।
यसअघि दीयाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित अफ्रिकाको सबभन्दा अग्लो हिमाल किलिमन्जरो, दक्षिण अमेरिका महादेशको अकोनकागा हिमाल र नेपालकै मनास्लु हिमाल आरोहण गरिसकेकी छन् । सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री समेत रहेकी दीयाले आफू ७ महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेको बताउँदै आएकी छिन् ।

आधा दर्जन बढी फिल्ममा काम गरेकी दीयाको पछिल्लो समय फिल्म ‘दयारानी’ सुपरहिट बनेको थियो । उनी अभिनीत आगामी फिल्म ‘एक्लो’ प्रदर्शनको तयारीमा छ । यो फिल्ममा उनले अन्तरीक्षयात्रीको भूमिका निर्वाह गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस