गायिका रचना रिमाल डिस्चार्ज
काठमाडौं । गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज भएकी छन् । गत मंगलबारदेखि काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत उनी स्वास्थ्यमा सुधार आएपछि शनिबार राती डिस्चार्ड भएकी उनी निकट गायक तथा संगीतकार श्रीधर अधिकारीले जानकारी दिएका छन् ।
सांगीतिक प्रस्तुतिका लागि रूकुम पश्चिम पुगेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । सुरूमा एपेन्डिसाइटिसको शंका गरेर काठमाडौं ल्याइए पनि एपेन्डिसाइटिस नभइ आन्द्रामा संक्रमण र पेटको समस्या देखिएको थियो ।
संक्रमणले आन्द्रा सुन्निएको देखिएपछि एन्टिबायोटिक्स चलाएर उनको उपचार गरिएको थियो । रचनालाई यतिबेला थुप्रै संगीतकर्मी, शुभचिन्तक एवं फ्यानहरूले स्वास्थ्यलाभको कामना गरिरहेका छन् । बद्री पंगेनी, शान्तिश्री परियार, एलिना चौहान, बसन्त सापकोटा, भरतमणि पौडेललगायत कलाकारहरू उनलाई भेट्न अस्पतालमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस