श्रृंगार एउटा कला हो, जसले हाम्रो कमिकमजोरी हटाउँदै कन्फिडेन्ट बढाउँछ

नवनारी
३ असार २०८२
690 Views

प्रविधिको विकास संगै अहिले हरेक क्षेत्रले दिनप्रतिदिन फड्को मारीरहेको छ । हरेक क्षेत्रमा प्रविधिको अधिकतम प्रयोग भएको पाइन्छ । पछिल्लो समय इन्टरनेटको व्यापक विकास भए संगै विश्व व्यापार तथा सौन्दर्य क्षेत्र नयाँ उचाँईमा पुगेको छ । सामाजिक संजालको कारणले यो क्षेत्रमा यति धेरै अघि बढिसकेको छ की सहजै रुपमा अनलाईन बाटै सेवा दिन सकिने, विभिन्न कुराहरु अनलाईन मार्फत सिक्न र सिकाउन सकिने अवस्था छ । जसको प्रभाव नेपालको ब्यूटिसियन क्षेत्रमा पनि परीरहेको छ । प्रविधिको विकास संगै कुल व्यापारको झण्डै ५० प्रतिशत अनलाईनको सहयोग रहेको ब्यूटिसियन निरु क्षेष्ठ बताउँछिन् । २००८ साल देखि भनिमण्डल ललितपुरमा आफ्नो व्यवसाय गर्दै आएकी क्षेष्ठले राम्रो ज्ञान सिप अनुभव भएको अवस्थामा राम्रो गर्न सकिने बताइन् । पछिल्ला १० वर्षमा यस क्षेत्रमा धेरै परिवर्तन भएको बताएकी तिनै क्षेष्ठ संगै ब्यूटिसियनका विभिन्न कुराहरु समेटेर नवनारीको लागि वसन्त भण्डारी संग गरिएको कुराकानीः

ब्यूटिसियन क्षेत्रमा कसरी सुरुवात गर्नु भएको थियो ?

म टिनएज १६,१७ वर्षमा विद्यालयमा अध्ययन गर्ने बेला देखि नै यस क्षेत्रमा एकदमै इच्छा थियो । मेरो सपना नै थियो कि पछि गएर हेयर स्पेशलिस्ट बन्ने । त्यसबेला देखिको सपनालाई पछ्याउँदै म आज यो ठाउँमा छु । २००८ साल देखि मेरो ललितपुरको भनिमण्डलमा न्यू श्रृङगार ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा छ । झण्डै १८ वर्षको यात्रामा थुप्रै अनुभवहरु समेटिएका छन् । त्यो बेलाको सानो लगानी आज एउटा राम्रो व्यवसाय बनेको छ । अहिले राष्ट्रिय, अन्तराष्ट्रिय कक्षाहरु सम्बन्धी तालिम पनि भइरहेका छन् । यहाँ सम्मको यात्रामा मैले धेरै कुरा सिक्दै अघि बढिरहेको छु ।

सुरुवाती चरणहरु कस्ता थिए, र अहिले कस्तो छ ?

२००८ सालमा मैले आफ्नै पसल सुरुवात गर्नु भन्दा पहिला देखि नै म यो क्षेत्रमा सामेल भइसकेको थिए । मेरो मेहेनत, लगन सिप, ग्राहकलाई जुन किसिमको सेवा दिँए त्यो कारणले गर्दा खेरी पनि म अहिले सम्म ग्राहकको मन जित्न सफल भएको छु । निरन्तर काम गरीरहेको छु । त्यो समय सामान्य रुपमा सञ्चालन गरेको पार्लर आज प्रोफेस्नल रुपमा सेवा दिइरहेका छौँ, यो बिचमा मैले आफैले थुप्रै तालिमहरु लिएको छु ।


त्यो समयका ब्यूटिसियन र अहिलेकामा धेरै नै फरक आइसकेको छ । हामीले पनि नयाँ–नयाँ प्रविधिलाई फलो गर्दै सिक्दै अनुभव बटुल्दै सेवाग्राहीलाई भरपुर मात्रामा सेवा दिइरहेका छौँ । यसमा सबैको त्यतिनै मेहेनत रहेको छ । आगामी दिनमा देशभर जो जति यो क्षेत्रमा हुनुहुन्छ । उहाँहरुलाई वेला वेलामा तालिम, नयाँ नयाँ कोर्षहरु सिकाउँदै अघि बढेको अवस्थामा आगामि दिनमा धेरै राम्रो गर्न सकिन्छ । ज्ञान सिप लिएको अवस्थामा मात्रै हामीले कन्फिडेन्टका साथ सेवा दिन सकिन्छ ।

यो क्षेत्रमा कत्तिको सहज छ ?

हरेक कामहरु जस्तै यो क्षेत्रमा पनि धेरै चुनौतीहरु छन् । सहजै रुपमा सोचेजस्तो पनि हुँदैनन् । काम गर्ने क्रममा कुनै एउटा गलत भएको अवस्थामा त्यसले ठूलो असर गर्ने भएकाले एकदमै सचेत हुन जरुरी छ । बजार एकदमै महंङ्गो छ । ग्राहकको पनि आफ्नै समस्याहरु छन् । विभिन्न प्रकारका ग्राहकहरु आउनुहुन्छ । कतिपय अभिभावक बिहिन, श्रीमान बिहिनलाई तालिम अथवा सेवा दिँदा झण्डै ५० प्रतिशत सम्म छुट दिइरहेकी छौँ । कोभिड–१९को बेलामा एकदमै गाह्रो अवस्था आएको थियो । तर अहिले पुन सहज हुँदै गएको छ । ग्राहकलाई सेवा संगसंगै तालिम दिइरहेको छौँ । स्किन, हयर संगसंगै थाई, मसाज, मेनिकेअर लगायतका हेयर तथा स्किन सम्बन्धी सम्पूर्ण तालिमहरु हामीले दिइरहेका छौँ ।

सामाजिक सञ्जालले कत्तिको सहज बनाएको छ ?

सामाजिक सञ्जालले एकदमै सर्पोट भएको छ । मेरो व्यापारको झण्डै ५० प्रतिशत ग्राहकहरु अनलाईनबाटै सम्पर्कमा आइरहेका छन् । म आफै विज्ञापन बनाउँछु । ब्यूटिसियन सम्बन्धी काम, प्रोडक्टका कुराहरु मैले जानकारी सामाजिक सञ्जालबाट पनि जानकारी दिइरहेको हुन्छु । त्यसैले त्यसले एकदमै सहयोग पुगेको छ । टिकटक मार्फत मेरो कतिपय पुरानो ग्राहकहरु हुनुहुन्थो उहाँहरु सम्पर्कमा आउनु भएको छ । यस अघि पार्लर सम्बन्धी कुराहरु सिक्न, जान्न र बुझ्नका लागि पार्लरमै जानुपर्ने बाध्यता थियो भने अहिले हरेक कुराहरु हामीलै लाईभ पनि देखाइरहेका हुन्छौँ । भिडियो बनाउँछौँ । त्यसले गर्दा व्यापारमा सहयोग त पक्कै पनि भएको छ संग संगै जनतालाई सुसुचित गर्ने काम समेत भएको छ ।

श्रृंगार कत्तिको आवश्यक छ मानिसको जिवनमा ?

श्रृंगार अथवा सुन्दरता भनेको मान्छेको एउटा सकारात्मक सोच हो । यो जरुरी नै हुन्छ किनभने प्रतिस्पर्धाको जमाना छ त्यो समयमा बिना यो सम्भव छैन, कुनै पनि ठाउँमा आफ्नो कन्फिडेन्ट बढाउनकै लागि भएपनि, अनुहारमा रहेको कमिकमजोरीलाई लुकाउनको लागि, आफुलाई कसरी प्रस्तुत गर्ने भन्ने बिषयमा पनि सृङगारको महत्वपूर्ण भुमिका हुन्छ ।

कुन उमेर समूहले कति मेकअप गर्ने ?

पक्कैपनि उमेर अनुसार मेकअप गर्नुपर्ने हुन्छ । विशेष गरी बालबालिका, युवा र वयस्क उमेरको लागि फरक फरक हुन्छ । आफुलाई आवश्यक परेको अवस्थामा सहजै मेकअप गर्न सकिन्छ । आफ्नो स्किन, हेयर अनुसार मेकअप गर्न जरुरी छ । र कुनै पनि प्रोडक्ट प्रयोग गर्नु भन्दा पहिला त्यसको बारेमा राम्रो संग जानकारी लिएर मात्रै प्रयोग गर्नुपर्छ ।

मेकअप गर्नुको बेफाइदा के छन् ?
बेफाइदा भन्दा पनि सम्पूर्ण स्टेप अनुसार मेकअप गर्न नजानेको अवस्थामा स्किन ड्यामेज हुन सक्छ । त्यसको लागि हरेक प्रोडक्टको ज्ञान लिन जरुरी छ, तालिम लिन जरुरी छ । कुनै पनि बस्तु प्रयोग गर्नुपूर्व त्यसको ज्ञान एकदमै जरुरी छ । ब्यूटिसियन पेशा भनेको आफु पनि राम्रो बन्ने र अरुलाई पनि राम्रो बनाउने हो । मेकअप भनेको एउटा कला हो, जस्तै मेरो फेसमा केहि कमिकमजोरी छ भने त्यसलाई मेकअफ आर्टबाट हामीले त्यसलाई पुरा गर्छौँ । यो पनि एउटा ट्यालेन्ट हो । त्यसैले यो एकदमै संवेदनशिल कुरा पनि भएकाले हरेक कुराको ज्ञान एकदमै जरुरी छ । हरेक बस्तु कसरी प्रयोग गर्ने त्यो सिक्न आवश्यक छ ।


ब्यूटिसियनको लागि सबैभन्दा महत्वपूर्ण सिजन कुन हो ?

हाम्रो सिजन भनेको साउन, भदौँ र असोजमा हो । मंसिर, बैशाख जस्ता बिहेको समयमा पनि एकदमै प्रयोग बढि हुन्छ ।

बजारमा नेपाली प्रोडक्ट कत्तिको प्रयोगमा छन् ?

अहिले यस सम्बन्धी महत्वपूर्ण कुनै सामाग्रीहरु नेपालमा नबनेको अवस्था छ । विशेष गरी भारत, थाइल्याण्ड, कोरिया जस्ता देशहरुबाट प्रोडक्टहरु नेपालमा आइरहेका छन् । जस कारणले पनि एक बस्तुको मूल्य एकदमै महंङ्गो छ ।

यसमा नयाँ पुस्ताको चासो कस्तो छ ?

अहिले सबैजना दिदीबहिनीहरु स्किन, हेयर आर्टको लागि एकदमै इच्छुक हुनुहुन्छ । उहाँहरु काउन्सिलिङ लिएर मात्रै हरेक प्रोडक्टहरु प्रयोग गर्नुहुन्छ त्यसमा खुसी लाग्छ । यदि सरकारी क्षेत्रले पहल गरेर नेपाली प्रोडक्ट नै बजारमा ल्याएको अवस्थामा ब्यूटिसियनको विदेश पलायन हुने अवस्था पनि कम हुने थियो । साथै बजारमा पाउने बस्तुको मूल्यमा पनि केहि कम हुने थियो ।

एउटा ब्यूटिसियनको तालिम लिएको कति समय पछि आफ्नै व्यवसाय गर्न मिल्छ ?

आफैमा एकदमै अनुभव ज्ञान हाँसिल गरेपछि मात्रै आफ्नै व्यवसाय गर्न सकिन्छ । अहिलेको जेनेरेसनले सिकेको ६ महिनामै आफ्नै व्यवसाय सुरु गर्ने गरेको पाइन्छ । यो एकदमै गलत हो, किनभने अति नै महत्वपूर्ण औजारहरु चलाउनुपर्ने हुन्छ, मानिसको जिम्दगी संग जोडिएको अत्यन्तै संवेदनशिल कुरा हो यो । त्यसैले तालिम सिकेर कम्तिमा पनि २ वर्षको अनुभव भएपछि मात्रै आफ्नो पार्लर, एकेडेमी खोल्दा उपयुक्त हुन्छ ।

पार्लर तथा सलोनहरुमा क्लिनिक/अस्पतालमा जस्तै स्किन सम्बन्धी सेवा दिएको पाइन्छ, यो कत्तिको राम्रो हो वा होइन ?

अस्पताल तथा क्लिनिकमा जस्तै चिरफार गर्ने, कपाल, स्किनको सेवा दिने गरिन्छ । त्यो कुरा सत्य नै हो । जुन व्यक्तिले स्किन र हेयर सम्बन्धी तालिम प्राप्त अनुभविले यो सेवा दिन सक्छ भने उहाँहरु एकदमै सहि हुनुहुन्छ । तर बिना तालिम, बिना अनुभव २,३ हप्ता सिकेकै भरमा यस्तो सेवा दिइन्छ भने त्यो राम्रो मानिदैन् । हामीले सेवाग्राहीको स्किन, हेयरमा खेल्नुपर्ने हन्छ, त्यसैले त्यसमा हामीले खेलवाड गर्नु हुँदैछ त्यसका लागि पुरा जानकारी र अनुभव लिएर मात्र त्यो सेवा विस्तार गर्नुपर्छ ।

युवा शक्ति विदेशीने लहरले ब्यूटिसियन क्षेत्रलाई कत्तिको असर गरेको छ ?

पक्कै पनि असर परेको छ । एकदमै राम्रो राम्रो ब्यूटिसियनहरु पनि विदेश गइराख्नुभएको छ । तालिम सिकेर अधिकांश विदेश गइरहेका छन् । केहि म जस्तै हामी यतै देशमै केहि गर्नुपर्छ, हामीले यहाँ आफ्नो संरचना निर्माण गर्नुपर्छ, नयाँ पुस्तालाई सिकाउनुपर्छ भन्ने भावना सहित हामी काम गरीरहेको छौँ ।

आगामी दिनमा यस क्षेत्रलाई कसरी अघि बढाउनुहुन्छ ?

मेरो प्रथामिकता हेयर र स्किन नै हो । यो कार्यलाई थप प्रभावकारी बनाउँदै जाने, अपइन्टमेन्ट अनुसार सबैलाई सेवा दिने, नयाँ नयाँ पुस्तालाई यस सम्बन्धी तालिम दिने कुरामा झनै अग्रसर हुनेछु । पहिलेको भन्दा त अहिले धेरै विकास भइसकेको छ । हरेक घरमा कम्तिमा एक, दुई जनालाई यसको बारेमा जानकारी पक्कै पनि हुन्छ । प्रविधिको विकासले सिक्नको लागि झनै सहज बनाएको छ । यसरी नै प्रविधिलाई सहि उपयोग गर्दै अघि बढ्ने योजना छ ।

निरु क्षेष्ठ न्यू श्रृंगार ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका हुन् ।


धेरै पढिएको