सहकारीमा नकारात्मकता हाबी भयो, राज्यले स्पष्ट नीति बनाएर संरक्षण गर्नुपर्छ
अमरावती बलामी महर्जन एक सहकारी अभियानता हुन् । झण्डै २६ वर्षे लामो सहकारी यात्रामा उनी सहकारीको कर्मचारी, अभियानकर्मी, सहकारी नेतृत्वमा हुँदै अहिले जिल्ला सहकारी संघ काठमाडौँको बरिष्ठ उपाध्यक्ष हुन् । साथै उनी काठमाडौँको नागार्जुन नगरपालिका–४ मा रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको रुपमा समेत कार्यरत छन् । आफ्नो झण्डै तीन दशक यताको सहकारी क्षेत्रको समलग्नतामा अहिले सहकारी सबैभन्दा जटिल र दर्दनाक अवस्थाबाट चलिरहेको उनको भनाई छ । देशभरका सहकारी ठगी प्रकरणलाई लिएर दिनप्रतिदिन आउने नकारात्मक समाचार, नियमनमा राज्यको व्यवास्थाका कारण सहकारी क्षेत्रमा एकदमै नकारात्मकता हाबी भएको उनको गुनासो छ । त्यसका साथै राजनीतिज्ञहरुले आफ्नो कमाईखाने भाँडोको रुपमा सहकारीलाई प्रयोग गरेका कारणले पनि सहकारी क्षेत्र झनै जोखिममा परेको उनको भनाई छ । पछिल्लो समय सहकारी ठगी प्रकरण पछिको सहकारीको अवस्था, आर्थिक संकट, आगामी यात्रा लगायतका कुराहरु समेटेर नवनारीको लागि वसन्त भण्डारी संग गरीएको कुराकानी:
सहकारीको अवस्था कस्तो छ अहिले ?
यसमा हामीले दुई तरिकाले हेर्न सक्छौँ । जहाँ पनि राम्रो संगै कतिपय नराम्रो पक्ष पनि पक्कै हुन्छ । पछिल्लो समय निरन्तर सहकारीको अवस्था दर्दनाक भनेर समाचार आइरहेका छन् तर पूर्ण रुपमा बास्तविकता त्यो पनि होइन् । कतिपय राम्रो संस्थाहरु छन् जसले काठमाडौँमै उदाहरणीय काम गरीरहेका छन् । अहिले सहकारीको राम्रो पक्षलाई कमै रुपमा हेर्ने नकारात्मक पक्ष बढि भएका कारणले गर्दा जिल्लामा रहेका सहकारी धरासायी रहेको भन्दै समाचार बनिरहेका छन् । तर बास्तविकता पूर्ण रुपमा त्यो होइन् ।
सहकारीको अहिलेको बास्तविक अवस्था के हो ?
राज्यको तीन खम्बे अर्थ नीतिमा सहकारी एकदमै ठूलो पिल्लरको रुपमा रहेको र संविधानले निर्धारण गरीसकेको क्षेत्र हो । अहिले हामीले सहकारी मात्र नभएर देशको आर्थिक अवस्थालाई पनि हेर्नुपर्ने हुन्छ । देश र अहिले विश्वभरमै आइरहेको आर्थिक तनावका कारणले सहकारी पनि त्यसमै मुछिने कुरा त भइनैहाल्यो । सहकारीमा आर्थिक संकट भन्दा पनि यदि सहकारीलाई संरक्षण गर्न सकिएको अवस्थामा समग्र देशको अर्थतन्त्र जग देखि नै बलियो बनाउन सक्छौँ । त्यो जग भनेको निम्न आय देखि उच्च आय सम्मलाई सहकारीले काम गरेको छ । देशको अर्थतन्त्रलाई बलियो बनाउनको लागि साइकलिङ गर्नको लागि सहकारीको भूमिका महत्वपूर्ण छ । त्यसलाई संरक्षण गरेर व्यवस्थित तरिकाले सहकारी क्षेत्रमा लागेका सरोकारवालाहरुले यसलाई संरक्षित तरिकाले अगाडी बढाइदिएको अवस्थामा देशको अर्थतन्त्र चलायमान हुनको लागि सहकारीको भुमिका उल्लेखनिय हुनेछ ।
सहकारी ठगि प्रकरण बाहिर आइसकेपछि सहकारीलाई कस्तो असर परीरहेको छ ?
म झण्डै २५/२६ वर्ष देखि यसरी सहकारीमै भविष्य खोजीरहँदा सहकारीमा राजनीति नगरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ । आज विश्वभरको उदाहरण हेर्ने हो भने सहकारी मार्फत गरिबी निवारण भएर आर्थिक सम्पन्नता भएको हामीले विभिन्न इतिहास पढ्न सक्छौँ । तर नेपालमा यस्तो अवस्था आइदियो कि सहकारीबाट सम्मुनत हुन्छ भन्ने विश्वास नै हराउने अवस्था छ ।
आर्थिक स्रोत नभएकाहरुलाई पनि सहकारीले एउटा सम्पन्नताको कार्य गर्नलाई मुख्य भूमिका खेलिरहेको छ । यस्तो अवस्थामा यसरी नै गएपछि त जनता धनी हुने भए यिनीहरुलाई रुपैयाँ पैसाको खाँचो नहुने भयो भन्ने सोच राखेर पनि होला, यसरी विभिन्न समस्याहरु निम्ताइएको । अहिले केहि मानिसले सहकारी प्रति चरम नकारात्मकता फैलाइरहेका छन् । गलत गर्ने जो कोहिले पनि सजायको भागिदार हुनु नै पर्छ धैर्य गर्ने र राम्रो गर्नेले पुरस्कार पाउनुपर्छ । यो हरेक क्षेत्रमा हुनुपर्छ । जस्तो सुकै भएपनि यदि गलत गरेको अवस्थामा कारवाही हुनुपर्छ ।

सहकारी सबै एउटै हुन्, ठगी गर्नै भाँडो हो भन्ने एउटा गलत भास्य नै चलेको थियो । अहिले पनि सरकारले विभिन्न ऐन नियमहरु परिमार्जन गर्दै निर्देशनहरु जारी गर्ने, राष्ट्र बैंकले पनि निर्देशन जारी गरेकाले सबैको चासोको बिषय सहकारी क्षेत्र बनेको छ । सहकारीहरु हरेक दिनको समाचार बने त्यस कारणले पनि जनताको सहकारी प्रतिको विश्वास कम हुँदै जाने अवस्था बनेको छ ।
साँच्चीकै सहकारीमा विश्वासको वातावरणमा कम नै भएको हो की हल्ला मात्र हो ?
सहकारीको नीति तथा सदस्य केन्द्रीत संस्थाहरुलाई खासै असर परेको छैन् । यदि सहकारीमा शुसासन, पारदर्शीता, ऐन नियम अनुसार चलेको अवस्थामा र विशेष गरी सदस्यमा केन्द्रीत रहेको अवस्थामा खासै असर पर्दैन् । तर ऐन, कानून, नीति नियम अनुसार चल्नै गाह्रो छ ।

अहिले मानिसहरु सहकारी संग डराएका हुन ?
हो, डराएकै अवस्था हो । किनकी बिहानै उठेर समाचार सुन्दा सुरुमै सहकारीकै समाचार आइदिने, त्यसमा नकारात्मक मात्रै भएपछि कसलाई विश्वास लाग्छ र ? सधै त्यो चोर त्यो चोर भनिराखे पछि त्यो चोर नै हाेकी भनेर समाजले ठान्छ । तर बास्तविकता अगाडी ल्याउन आवश्यक छ राम्रो सदस्य बेसमा रहेका संस्थाहरु आज पनि जनताको हितको लागि काम गरीरहेका छन् तर ती समाचार नियमित प्रशारण हुँदैनन् उनीहरु राम्रो काम गर्नेहरु ओझेलमा परीरहेका छन् । तर नकारात्मक कुरामा मात्रै धेरै फोकस भयो । बास्तममा सहकारी सदस्यको जीवन स्तर उकास्नको लागि काम गरीरहेका संस्थाहरु रामै संग चलिरहेका छन् ।
सहकारी ठगी प्रकरणका वास्तविक पीडितले कहिले पैसा पाउँछन् ?
संघ सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि फिर्ता गर्नुपर्छ भनेर उल्लेख गरेको छ । हामीले विगतमा पनि एक, दुई वटा घटनाहरु हेरीसकेका छौँ । त्यहि बेला देखि नै व्यवस्थित भएको अवस्थामा यत्रो दुर्घटना हुने थिएन् । कडा नियमन गरेर संरक्षण गर्न सकेको भए अहिले यो समय आउने थिएन् । सरकारले चासो दिएर बजेटमा उल्लेख गरीसकेको कारणले गर्दा खेरी जति पनि सहकारी पीडितहरु हुनुहुन्छ उहाँहरुले आफ्नो बचत फिर्ता पाउनुहुन्छ । केहि ढिलो होला तर पक्कै पनि पाइन्छ जस्तो लाग्छ ।

यसका साथै सहकारीलाई नियमन गर्न अब ढिला गर्नु हुँदैन् । अहिले सम्म हामीले किताबी ज्ञान बिना सहकारी सञ्चालन गर्याैँ । विगतका दिनमा सहकारी भन्ने शिक्षा नै थिएन् । न त कुनै पाठ्यक्रममा पढियाे, एउटाले चलाएको देख्यो त्यसपछि आफुले दर्ता गर्यो गयो । उदाहरणको लागि जस्तैः कार्यक्षेत्र मेरो नागार्जुनमा छ तर मैले ब्याज धेरै आउँछ भनेर लाजिमपाट सहकारीमा लगेर पैसा जम्मा गरेको अवस्थामा पैसा फिर्ता आएन भनेर उजुरी गरेरै समस्याको समाधान हुँदैन् । यस्ता शिक्षाका कमिका कारणले गर्दा खेरी सदस्यहरुले दुख भोगिराख्नु भएको छ । त्यसैले सहकारी शिक्षा पनि अहिलेको अनिवार्य आवश्यकता हो ।
बैंक हुँदा हुँदै सहकारी किन चाहियो र पनि भनिन्छ, खासमा सहकारी कत्तिको आवश्यकता छ ?
बैंक र सहकारी जसले बुझ्दैन उसलाई थाहा हुँदैन् । बैंकमा हामी सेवाग्राही हो, तर सहकारीमा हामी सदस्य हो त्यसमा नाफा घाटा जे छ बराबर बाँड्ने हो । सहकारीमा आवद्ध भएका सदस्यको जिवनस्तर उकास्ने हो रुपैयाँ पैसाको कुरा मात्र होइन् । पैसा मात्रै नभएर हरेक अप्ठ्यारा, जन्म देखि मृत्यु सम्म सारथीको रुपमा सहकारीले काम गर्छन । सदस्यको हितको लागि सामाजिक कार्य, जनचेतना, व्यक्तित्व विकास, आफुमा रहेको क्षमता उजागर गर्नको लागि समेत काम गर्दछ । १० हजार ऋण नपाउनहरुले पनि सहकारीबाट सहजै ऋण लगेर आफ्नो व्यवसाय गर्नु भएको छ, आफैमा सक्षम हुनुभएको छ । यस्ता साना साना कुराहरुमा पनि सहकारीको भूमिका महत्वपूर्ण छ ।

अब सहकारी क्षेत्र कसरी अघि बढ्नुपर्छ त ?
सबै भन्दा पहिला हामीले संस्था दर्ता गर्दा खेरीको आफ्नो मौलिकता रहेको विनियम र त्यहाँ रहेका विभिन्न उपसमिति, कर्मचारी, सदस्य सबैले त्यसको बिषयमा अध्ययन गर्नुपर्छ । हाम्रो कार्यक्षेत्र कति हो ? हामीले कति सम्म लगानी गर्न सक्छौँ ? हाम्रो काम कर्तव्य अधिकार के के हो ? सबैले आफ्नो आन्तरिक विधानलाई अध्ययन गरेर आफ्नो संस्थालाई अगाडी नबढाएको अवस्थामा यो क्षेत्र व्यवस्थित भएर अघि बढ्न सक्दैन् । ऐन नियम नमान्ने, लाप्रवाही रुपमा सञ्चालन भएको अवस्थामा अहिलेको जस्तै तमाम समस्या आउँछन् ।
अन्तिममा के भन्न चाहानुहुन्छ ?
सहकारीको अहिलेको समग्र अवस्था देख्दा दुख लाग्छ । दैनिक जोहो गरेर पैसा जम्मा गरेका सदस्यहरुले समयमै पैसा झिक्न नपाएको अवस्था, कतिपय क्षेत्रमा राजनीतिक दलले सहकारीलाई आफ्नो भाँडो बनाइरहेको देख्दा अझै पनि हाम्रो देशमा गरिबीको रेखामुनी रहेका मानिसहरुले सम्पन्नता देख्न नसकिने हो की भन्ने पीडा हुन्छ । आज भन्दा केहि वर्ष पहिला यस्तो समस्या थिएनन् । सहकारी दर्ता गरेर छाडा छोडिदिने प्रवृतिले सहकारी दुर्घटनामा परीरहेका छन् ।

समस्या धेरै छ सहकारीमा समस्या आयो भनेर तर्सीनु भएन् समस्या संग संगै समाधान पनि आउँछ । अहिले धेरै जना तर्सिरहेको अवस्था छ । तर मलाई के लाख्छ भने अब भविष्य सम्मै सहकारी क्षेत्रको राम्रो हुनेगरी सुधार हुन्छ । राज्यले पनि तीन महिना नपुग्दै ऐन कानून परिवर्तन गर्ने गर्ने कामलाई बन्दै गर्दै सहकारी प्रति स्पष्ट नीति बनाएर व्यवस्थित रुपमा अघि बढाउन जरुरी छ ।




अमरावती बलामी महर्जन जिल्ला सहकारी संघ काठमाडौँको बरिष्ठ उपाध्यक्ष हुनुका साथै उपासना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस