प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची रहेको छ ।
‘राप्रपाले वर्तमान संविधानले काम गर्दैन भनिरहेको परिस्थितिमा संविधान संशोधनको एजेन्डा सहित मूलतः नेपाली कांग्रेस र नेकपा एमालेले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रूपमा सकारात्मक हिसाबले लिएको भए पनि तत्पश्चात्का सम्पूर्ण गतिविधिहरूको विश्लेषण गर्दा, राप्रपाले आइतबार संसद्मा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस