अस्ट्रेलियामा कसरी काम गर्दैछिन राजदूत यादवले ?
काठमाडौँ । अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादव कार्यभार सम्हाल्न अष्ट्रेलिया आइपुगेकी छन् । राजदूत यादवलाई सिड्नीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एनएसडब्लु राज्यका महावाणिज्यदूत सन्जिवकुमार शर्मा, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नेपाली समाजका अगुवा लगायतले स्वागत गरेका थिए । राजदूत यादवले आफ्नो पहिलो प्राथमिकता दुई देशको उच्चस्तरीय राजनीतिक भ्रमण गराउनु रहेको उनले बताइन् ।
अस्ट्रेलिया र नेपालको बीचमा अहिलेसम्म उच्चस्तरीय राजनीतिक भ्रमण भएको छैन । अब त्यहाँ चुनाव आउँदैछ । त्यसअघि गराउन सम्भव नभए पनि चुनावपछि गराउनुपर्छ, यादवले भनिन्, ‘प्रधानमन्त्री, मन्त्री र सांसदहरूको बीचमा भ्रमण गराउने प्रयास हुन्छ । सांसदहरूका बीचमा एक आपसमा अनुभव साटासाटका भ्रमण समेत गराउन प्रयास गर्छु ।’
अस्ट्रेलियाले नेपालका लागि धेरै गर्न सक्ने ठाउँ रहेको भन्दै उनले उच्चस्तरीय भ्रमणले दुई देश बीचको समझदारी र सहयोगको वातावरण बनाउन भूमिका खेल्ने बताइन् । आफ्नो अर्को मुख्य दायित्व भनेको नेपाल र नेपालीको हितमा काम गर्नु रहेको उनको भनाइ छ । उनका अनुसार सन् २००७ मा नेपाली दूतावास स्थापना हुँदै गर्दा अस्ट्रेलियामा १० हजार मात्र नेपाली थिए तर अहिले ३ लाखको हाराहारीमा नेपाली पुगिसकेका छन् ।
तर दूतावासमा कर्मचारी त्यो बेलाकै संख्याबाट बढेको छैन । यस्तो अवस्थामा कसरी सहज तरिकाले चुस्त दुरूस्त सेवा दिन सकिन्छ भनेर आफूले छलफल गर्ने बताइन् । मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यादवलाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस