युद्धविराम पछिको गाजा शहर

नवनारी
७ माघ २०८१
244 Views

एजेन्सी । गाजामा युद्धविराम लागू भएसँगै ९० जना प्यालेस्टाइनी कैदी र तीन जना बन्धक रिहा भएका छन् । हमासले तीन जना बन्धनलाई रिहा गरेको बदलामा इजरायलले ९० जना कैदी रिहा गरेको हो । एक जना बन्धकबराबर ३० जना कैदी रिहा गर्नुपर्ने हमास र इजरायलबीच भएको युद्धविराम सम्झौतामा उल्लेख छ ।

पहिलो चरणमा हमासलले ३३ जना बन्धक रिहा गर्ने सहमति छ । तर, यो ३३ जनाको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश छैन । यद्यपि कैदी र बन्धक रिहाइको सिलसिला सुरु भएपछि गाजा क्षेत्रमा खुसियाली छाएको छ । सोमबार रिहा गरिएका कैदीहरूमध्ये धेरैजसो महिला र बालबालिका छन् । प्यालेस्टाइनको मुक्ति मोर्चाकी नेता तथा प्रख्यात राजनीतिज्ञ खालिदा जरार पनि इजरायलको जेलबाट रिहा भएकी छन् ।

हमासले ३१ वर्षीया डोरोन स्टेनब्रेचर, २८ वर्षीया ब्रिटिस इजरायली एमिली दमारी र २४ वर्षीया रोमी गोनेनलाई अपहरणमुक्त गरेको छ । उनीहरूको तेल अभिब अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।

युद्धविराम लागू भएसँगै गाजाबाट विस्थापितहरू घर फर्किरहेका छन् । तर, आफ्नो घर लडाइँमा ध्वस्त भएपछि उनीहरूमा नयाँ निराशा छाएको छ । अमेरिकाले युद्धविराम लागू गराउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कतारलाई धन्यवाद दिएको छ । संयुक्त राष्ट्र संघले आइतबार गाजामा ६ सय ३० भन्दा बढी सहायता ट्रकहरू पुगेको जानकारी दिएको छ ।


धेरै पढिएको