बझाङका १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
बझाङ । जिल्लाका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ । माघ २२ देखि फागुन ६ सम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य उक्त कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । उनले १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाउने बताए । विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने उनले जानकारी दिए ।
जिल्लाभरि विद्यालय जाने ११ हजार आठ सय ३५ र विद्यालय नजाने दुई सय ९१ गरी १२ हजार एक सय २६ किशोरीलाई खोप लगाइने बताए । खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर दुई सय ९१ स्वास्थ्यकर्मी र चार सय ३४ जना स्वयंम्सेवक गरी छ सय ५१ स्वास्थ्यकर्मी परिचालन गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस