आन्दोलनमा हाेइन कक्षा कोठामा जान शिक्षकहरुलाई शिक्षामन्त्रीको आग्रह

नवनारी
१० माघ २०८१
309 Views

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई आन्दोलनमा भन्दा कक्षाकोठा गएर शिक्षण सिकाईलाई प्रभावकारी बनाउन आग्रह गरेकी छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले आयोजना गरेको विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन र गुणस्तरमा प्रभाव विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अहिले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउँदै कक्षा कोठामा गएर पढाइमा ध्यान दिन आग्रह गरेकी हुन् ।

नेपाल शिक्षक महासङ्घले माघ १६ र १७ गतेको तेस्रो पूर्ण राष्ट्रिय समितिको बैठकपछि काठमाडौँ केन्द्रित आन्दोलनको तयारी गरेको छ । उक्त बैठकपछि विद्यालय शिक्षा ऐन चाँडो ल्याउनुपर्ने, शिक्षकका पेशागत मागहरू सम्बोधन गरिनुपर्ने जस्ता माग राखेर आन्दोलनको तयारी गरेका हुन् । आन्दोलनको तयारीमा रहेका शिक्षकहरूलाई मन्त्री भट्टराईले आन्दोलन शब्दबाट विद्यार्थीहरू समेत त्रसित हुन थालेको बताइन ।

मन्त्री फेर्नका लागि आन्दोलन गर्न खोजेको हो भने आफू तत्काल राजीनामा दिने बताइन् । ‘आन्दोलन राज्य व्यवस्था परिवर्तन गर्नका लागि गरियो । मन्त्री फेर्ने हो भने आन्दोलन गर्नुहोस् म एकदमै आभार व्यक्त गर्छु । यो विद्या भट्टराई मन्त्री भइन फेरौँ भन्नु हुन्छ भने हुन्छ मैले छोडी नै हाल्छु समस्या छैन । तर हामी साँच्चिकै समाज बनाउनका लागि हो भने अगाडी बढेको मिलेन’, उनले भनिन् ।

हिजोका दिनमा सार्वजनिक छलफलमा शिक्षकहरू आउन नसक्ने अवस्था रहेको बताउँदै अहिले त्यो अवस्था नरहेको बताइन । अहिले सरकारले एसईईको नतिजा ७० प्रतिशत पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको अवस्थामा शिक्षकहरूले आन्दोलन गर्छु भन्नको अर्थ नहुने बताइन । यस्तो अवस्थामा शिक्षकका सङ्घ सङ्गठनले आन्दोलन गर्छु भनिरहँदा शिक्षा कता जान्छ भन्ने प्रश्न शिक्षकहरूमाथि नै उठ्ने गरेको बताइन ।

यदि शिक्षक सङ्घ–सङ्गठनले आफूहरूलाई शिक्षकहरूको नेता ठान्ने हो भने चाहे सिकाउने कुरामा भएका चुनौती हुन वा काम गर्ने सन्दर्भका चुनौती हुन लगायतका आजका चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित हुनुपर्ने बताइन । शिक्षकहरूलाई दलका कार्यकर्ता भए भन्ने आरोप लागिरहेको बताइन । राजनीतिक चेतना सबै नागरिकसँग हुने बताउँदै यसले शिक्षकहरूलाई अपमानित हुने अवस्था सिर्जना गरेको बताइन ।


धेरै पढिएको