वीरेन्द्रनगरलाई समावेशी शहर बनाउने अठोट
काठमाडौँ । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशकै एक महत्वपूर्ण र मुख्य शहर हो । कर्णालीका १० जिल्लाको केन्द्र रहेको वीरेन्द्रनगर कर्णाली जानेको लागि प्रवेशको एक मुख्य केन्द्र पनि हो । पछिल्लो समय विकास निर्माणका हिसाबले तिव्र रुपमा अघि बढिरहेको वीरेन्द्रनगरलाई समावेशी सहरको रुपमा विकास गर्ने वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालको अठोट छ ।
वीरेन्द्रनगरलाई ‘सिटी फर वुमेन’को सहयोगमा सहरलाई महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना निर्माण गरी समावेशी सहर बनाइने उनले बताएकी छन् । ढकालले सहरहरू सबैका लागि अवरोधमुक्त, अवसरयुक्त, हरित र विभेदरहित हुनुपर्ने बताइन् । त्यसका लागि वीरेन्द्रनगरले चौतर्फी सुधारका प्रयास थालेको उनको भनाइ छ । ‘हामीले अब बन्ने प्रत्येक भौतिक संरचनालाई सबैको पहुँचयुक्त बनाउने छौँ,’ मेयर ढकालले भनिन्, ‘हाम्रा खुल्ला र सार्वजनिक क्षेत्रहरूलाई महिला मैत्री बनाइरहेका छौँ ।’
मेयर ढकालले सहरहरू अवरोध र असमानताका केन्द्र बन्न नहुने बताइन् । ‘सहर अवसरका ढोका हुनुपर्छ । उमेर, जात, वर्ग, लिंग र शारीरिक अवस्थाको विविधता आत्मसात् गर्दै सबै अटाउने समावेशी बन्नु पर्छ’, उनले भनिन्, ‘त्यसका लागि हामी जग हाल्ने काम गरिरहेका छौँ । आवश्यक नीति निर्माण गर्नेदेखि त्यो सँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।’
वीरेन्द्रनगरले भौतिक पूर्वाधार विकास मात्र नभई मानव विकासलाई पनि उत्तिकै प्राथमिकता दिइएको ढकालले बताइन् । ‘हामीले निर्माण गर्ने पूर्वाधारहरूलाई महिला, अपाङ्गता भएका, बालबालिका र ज्येष्ठ नागरिकहरूका लागि सहज पहुँच योग्य बनाएका छौँ,’ उनले भनिन् । सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्ष समेत रहेकी मेयर ढकालले वीरेन्द्रनगरको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने नीति लिएको बताइन् । वीरेन्द्रनगरको धेरै सार्वजनिक तथा सरकारी जग्गा हडपेर बनाइएका संरचनाहरू हटाएर अहिले ती क्षेत्रहरूमा खुल्ला पार्क निर्माण थालिएको उनको भनाइ छ । ती पार्कहहरु महिला, बालबालिका, अपांगता भएका र ज्येष्ठ नागरिकमैत्री रूपमा निर्माण गर्न थालिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस