ट्रम्प प्रशासनले थाल्यो अवैध आप्रवासीलाई पक्राउ अभियान
काठमाडौँ –अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई पक्राउ अभियान नै थालेको छ । अमेरिकी न्याय विभागले कानुन कार्यान्वयन गराउने विभिन्न एजेन्सीहरू परिचालन गरी अवैध रूपमा वसोबास गरिरहेका आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान चलाएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी फिर्ताको विषयलाई गम्भीरतापूर्वक लिएको र कार्यकाल सुरू भएदेखि नै अवैध आप्रवासीलाई फिर्ता पठाउने प्रक्रिया सुरू हुने बताएका थिए । आइतबार त्यो अभियान सिकागोबाट सुरू भएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सिकागोमा विभिन्न शंकास्पद स्थानहरूमा छापा मारेर प्रहरीले अवैध रूपमा बसोबास गर्दै आइरहेका आप्रवासीहरूलाई पक्राउ गरेको छ । अमेरिकाको अध्यागमन विभागले विज्ञप्ति जारी गरेर अवैध आप्रवासी पक्राउ अभियान चलाएको जानकारी गराएको सिएनएनको समाचारमा उल्लेख छ ।
उक्त अभियान देशैभरि सुरू हुने भनिएको छ । केही मिडियाहरूले झन्डै एक हजार अवैध आप्रवासी आइतबार पक्राउ परेको भनेका छन् तर त्यसको यकिन विवरण भने सार्वजनिक भइसकेको छैन । अपरेशनमा स्थानीय अधिकारीहरू भने संलग्न नरहेको न्युयोर्क टाइम्सले जनाएको छ । ट्रम्पले अवैध आप्रवासीहरूलाई अपराधी भनेका थिए । त्यस्ता मानिसहरूलाई उनीहरू जहाँबाट आएका हुन् त्यहीँ पठाइने उनले बताएका थिए । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस