अमेरिकापछि अर्जेन्टिना पनि विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने घोषणा

नवनारी
२५ माघ २०८१
219 Views

एजेन्सी । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गरेको सिएनएनले जनाएको छ ।
‘राष्ट्रपति (जेभियर) मिलेईले (विदेश मन्त्री) गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिए’, एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एडोर्नीले भने, ‘हामी अर्जेन्टिनीहरू कुनै अन्तर्राष्ट्रिय सङ्गठनलाई हाम्रो सार्वभौमिकतामा हस्तक्षेप गर्न दिनेछैनौँ, विशेष गरी हाम्रो स्वास्थ्यमा ।’
एडोर्नीले अर्जेन्टिनाको निर्णयलाई ‘स्वास्थ्य व्यवस्थापनसम्बन्धी गहिरो मतभेदहरू, विशेष गरी महामारीको समयमा… जसले हामीलाई मानव इतिहासको सबैभन्दा लामो लकडाउन र केही राज्यहरूको राजनीतिक प्रभावको सामना गर्न स्वतन्त्रताको कमीमा पुर्‍याउको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि यो घोषणा आएको हो ।

पछि जारी गरिएको वक्तव्यमा अर्जेन्टिनाका राष्ट्रपति कार्यालयले डब्लुएचओलाई कोभिड–१९ महामारीको समयमा ‘(अन्तहीन क्वारेन्टाइनलाई बढावा दिएर)’ आर्थिक क्षति पुर्‍याएको आरोप लगाएको छ ।

वक्तव्यमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय समुदायबाट यो पुनर्विचार गर्न जरुरी छ कि किन सबैले वित्त पोषण गरेका अन्तर्राष्ट्रिय सङ्गठनहरू अस्तित्वमा छन्, जसले आफू सिर्जना गरिएका उद्देश्यहरू पूरा गर्दैनन्, अन्तर्राष्ट्रिय राजनीतिमा संलग्न हुन्छन् र सदस्य देशहरूभन्दा माथि आफूलाई थोप्न खोज्छन् ।’
डब्लुएचओले अर्जेन्टिनामा काम गर्छ । तथापि एडोर्नीले अर्जेन्टिनाले स्वास्थ्य व्यवस्थापनका लागि डब्लुएचओबाट वित्तीय सहयोग प्राप्त नगरेको बताए ।


धेरै पढिएको