बालबालिकामा पनि हुन सक्छ डिप्रेशन

नवनारी
२८ माघ २०८१
270 Views

काठमाडौँ । डिप्रेसन एक मानसिक रोग हो । सामान्य रुपमा भन्दा यो रोग दिग्दारी रोग हो । सधैँ दिक्क देखिने अर्थात् निराश देखिने रोग हो डिप्रेसन । हाम्रो मनमस्तिष्कले हामीलाई समान्य तरिकाले चलाइरहेको हुन्छ । तर कहिलेकाँही केहि विशेष कारणले गर्दा मन दुःखी हुनु र त्यो अवस्था लामो सयमसम्म रहिरनुलाई डिप्रेसन भनिन्छ । यदी मन दुःखी भयो उदास भयो भने केहि समय फेरी त्यो मन फर्किएर सामान्य अवस्थामा आउनुपर्छ । दुई हप्तासम्म मन लगातार दुःखी र उदास भइरयो अरु लक्षण पनि आयो भने त्यसलाई पनि डिप्रेसन भनिन्छ । डिप्रेसनको निदान समयमै गरिएन भने मानिसले आत्महत्या सम्मको बाटो रोज्ने गरेको पाइन्छ ।

विश्वमा हरेक बर्ष अकालमा ज्यान गुमाएका मध्य आधाजसोले आत्महत्या गर्नै गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । जसमा आत्महत्याको मुख्य कारण डिप्रेसन हो । घर परिवारमा उनका बुवाआमा सधैँ झगडा गर्छन् भने पनि परिवारका बालबालिकामा डिप्रेसन देखिन्छ । यस्तै स्कुलमा शिक्षकहरुले धेरै हप्काउने पिट्ने तथा अनावश्यक रुपमा जिस्काउने गर्नाले पनि बच्चामा डिप्रेसन देखिन्छ । बुवा आमामध्ये एक जनालाई डिप्रेसन थियो भने पनि वंशानुगत कारणले बालबालिकामा पनि सम्भावना धेरै हुन्छ । नेपालमा पनि आत्महत्या रोकथाम चुनौतीपूर्ण बन्दै गएको छ । यहाँ गरिबी, परिवारिक कलह, श्रीमान् श्रीमतीबिचको असमझदारी, प्रेममा असफल, बेरोजगारी, आर्थिक संकट अन्य विभिन्न तनावले युवा अवस्था नै १५ देखि २० प्रतिशत मानिसलाई डिप्रेसनको सिकार भएका छन् । जसरी युवा वा ठूलो मानिसमा डिप्रेसन हुन्छ । त्यस्तै खालको बच्चामा पनि हुन्छ । कुल बच्चामध्ये तीनदेखि ५ प्रतिशत बच्चामा डिप्रेसन हुने गरेको अनुसन्धानले देखाएको छ । तर धेरै अभिभावकहरुले बच्चामा देखिने डिप्रेसनलाई बेवास्था गर्छन् ।

कालान्तरमा गएर बच्चाहरु आत्महत्यासम्मको बाटो रोज्न सक्छन् । बच्चामा डिप्रेसनको लक्षण सानो उमेर र सजिलैसँग आफ्नो कुरा अरुलाई भन्न नसक्ने हुँदा ठूलो मानिसको जस्तो बालबालिकाको समस्या सजिलै पत्ता लाग्दैन । तर उनीहरुले गर्ने व्यवहारले बच्चामा डिप्रेसन छ छैन भनेर पत्ता लगाउन सकिन्छ । बालबालिकाहरु धेरै रुन्छन्, दुःखी जस्तो देखिरहन्छन्, कुनै पनि कुरामा चाँडै रिसाउँछन्, साथीभाई र घरपरिवारका सदस्य सँग झगडा गरिरहन्छन्, धेरै समय एकान्तमा तथा एकलै बस्न रुचाउँछन् भने उनीहरु डिप्रेशनको सिकार भएका हुन सक्छन् । १४÷१५ बर्ष उमेरका बच्चाहरुले मर्ने कुरा गरिरहन्छन् भने झन् सचेतना अपनाउनुपर्छ ।

कसरी बचाउने कस्तो उपचार गर्ने ?
बालबालिकामा डिप्रेसन देखिएको लामो समय सम्म उपचार गरिएन भने यस्ता बालबालिकाहरुले आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । उनीहरुको उमेर अनुसार सिक्ने र पढ्ने काम नहुँदा पनिसम्म मानसिक तनाव रहिरहने देख्न सकिन्छ । बालबालिकालाई डिप्रेसनबाट बचाउन बालबालिका अनुसार साथी बनेर उनीहरुको कुरा सुनिरहने, नियमित विभिन्न खालका व्यायाम गराउने, घरको राम्रो र मायालु वातावरणमा हुर्काउने गर्नुपर्छ ।
बालबालिकालाई धेरै गाली र हप्काउने काम गर्नु हुँदैन् । यदि कुनै पनि बालबालिकामा डिप्रेसनको लक्षण देखिए बेलैमा चिकित्सकलाई देखाउनुपर्छ । समयमा नै उपचार गरियो भने मनोपरामर्श र कडा खालको डिप्रेसन रहेछ भने छ महिनादेखि एक बर्षसम्ममा औषधी खुवाए डिप्रेसन पूर्ण रुपमा निको हुन्छ ।


धेरै पढिएको