विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन कतारसँग आग्रह

नवनारी
४ फागुन २०८१
212 Views

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीसँग भेटवार्ता गरेकी छन । ओमनको राजधानी मस्कटमा भएको शिष्टाचार भेटमा मन्त्री राणाले हमासको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको लागि आग्रह गरेकी छन् । आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरूबीच आइतबार साइडलाइन भेट भएको हो ।

सो भेटका क्रममा नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्ति लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

मन्त्री राणाले इजराइल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिइन् । केही समय अघि पनि मन्त्री राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । खुलाइफी इजराइल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता छन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आएकी छिन् ।


धेरै पढिएको