किट विश्वविद्यालयको घटनाबारे ओडिसाका उच्च शिक्षा मन्त्रीसँग कुराकानी 

नवनारी
७ फागुन २०८१
227 Views

एजेन्सी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा बुधबार ओडिसाका उच्च शिक्षा मन्त्रीसँग फोनमा कुराकानी गरेकी छन् । 

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत भेटिएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीको न्यायका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पहल गरिरहेकी छन् ।
सो फोन वार्ताका क्रममा भारतीय मन्त्री सूर्यवंशी सुरजले उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएका थिए । 

मन्त्री राणाले सामाजिक सञ्जालमार्फत् यसबीच ओडिसा सरकारका अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेको जनाएकी छन् । राणाले भारतीय मन्त्री  सुरजसँग संवाद गरी दोषीलाई कडा कारबाही तथा त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित पठनपाठनको वातावरण बनाउन आग्रह गरेकी छन् ।
साथै, उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई होस्टलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको जानकारी आफूलाई दिइएको बताएकी छन् ।

राणाले भनेकी छन्, ‘कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताउनुभएको थियो । यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।’


धेरै पढिएको