भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकाको उद्धार

नवनारी
१२ फागुन २०८१
240 Views

काठमाडौं । माईती नेपाल धनुषा जनकपुरले नेपालबाट भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकालाई उद्धार गरेको छ । माईती नेपालले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सीमानाका हुँदै भारततर्फ गइरहेको अवस्थामा अनुगमन टोलीले प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरेको जानकारी दिएको छ ।

उद्धार गरिएका मध्ये १८ वर्षमुनिका ५३ जना तथा १८ वर्षमाथिका ४९ जना रहेका छन् । यसैगरी, १०० जनालाई सुरक्षा आवास प्रदान गरिएको छ, जसमा १८ वर्षमुनिका ४६ जना र १८ वर्षमाथिका ५४ जना रहेका छन् । एक वर्षको अवधिमा १७२ जनालाई मनोपरामर्श सेवा प्रदान गरिएको छ । माईती नेपालले सीमा क्षेत्रमा ८,३८२ वटा बसको जाँच तथा ५,१९२ जनालाई मानव बेचबिखनसम्बन्धी जनचेतनामूलक सूचना प्रदान गरेको छ ।
नेपालमा मानव बेचबिखन नियन्त्रणका लागि कडा कानून रहेको भए पनि दलालहरूले विभिन्न प्रलोभनमा पारेर यो अपराधलाई निरन्तरता दिइरहेका छन् । यदि कसैलाई मानव किनबेचमा संलग्न भएको पाइएमा २० वर्षसम्मको जेल सजाय र २ लाख रुपैयाँसम्मको जरिवानाको प्रावधान छ ।

वेश्यावृत्तिमा संलग्न गराउनेलाई १० देखि १५ वर्ष कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ । उद्धार गरिएका व्यक्तिहरूलाई लक्षित गरी माईती नेपालले विभिन्न सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । संस्थाले २३ जिल्लामा कार्य सञ्चालन गर्नुका साथै देशभर १८ वटा सुरक्षा आवास गृह, ३ रोकथाम गृह, पुनस्र्थापना केन्द्र, स्नेह गृह, विद्यालय, बाल संरक्षण गृह, प्राथमिक उपचार केन्द्र तथा आयआर्जनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । नेपालमा प्रत्येक वर्ष ३५ हजारभन्दा बढी व्यक्ति मानव बेचबिखनको सिकार हुने गरेको तथ्यांक छ, जुन वास्तविक संख्या भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।


धेरै पढिएको