देशभरका शिवालयमा भक्तजनको भीँड
काठमाडौँ –महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लामको व्यवस्था गरिएको छ ।
अहिले भक्तजनको लाम धेरै लामो भएको छ । व्यवस्थित रूपमा भक्तजनले लाममा बसेर दर्शन गर्न सक्ने व्यवस्था गरिएको उनले बताए । महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरमा विशेष पूजाका लागि चार सयवटा रसिद काटिएको छ । दुई सयवटा रसिदको पूजा बिहानै सम्पन्न भएको प्रवक्ता अधिकारीले बताए । बाँकी दुई सयवटा रसिदको भने बेलुकी पूजा गरिने जनाइएको छ ।
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए । सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरी कोषले तयारी गरेको छ । यस्तै आज देशभरका शिवालयहरुमा अहिले भक्तजनको घुईँचो लागेको छ । विशेष गरी हिन्दुधर्मालम्बीहरुले आजको दिनलाई विशेष दिनको रुपमा मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस