स्वर्गद्वारी गुठीका मोही किसानमाथि सरकारले दमन गर्‍यो– सांसद शर्मा

नवनारी
२१ फागुन २०८१
205 Views

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले स्वर्गद्वारी गुठीका मोही किसानमाथि दमन गरेको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसद शर्माले काठमाडौं आएर आन्दोलन गरेको ३२ दिन बितिसक्दा पनि सरकारले उनीहरूको समस्या समाधानको पहल नगरेको बरू दमनमा उत्रिएको बताएकी हुन् ।

‘आइतबार प्रहरी र आन्दोलित मोही किसानबीच झडप भयो । दुवै तर्फका घाइते भए । १२ जनालाई नियन्त्रणमा लिएर प्रहरीले भोलिपल्ट छाडेको थियो,’ सांसद शर्माले भनिन् । सरकारले सडकबाट किसानले उठाएको र सांसदहरूले पटकपटक संसदबाट ध्यानाकर्षण गराएको विषय पनि सरकारले नसुनेको बताइन् ।

‘गुठि किसानसँग वार्ता गरी यथाशीघ्र गुठीसम्बन्धी ऐन ल्याउन, जमीनमाथिको द्वेध स्वामित्व अन्त्य गरी मोही पुर्जाको हक सुनिश्चित गर्न र गुठी जग्गा रैकरमा परिवर्तन गरी किसानलाई जग्गा धनी पुर्जा जारी गर्न सरकारसँग माग गर्न चाहन्छु,’ उनले भनिन् । सरकारले सडकमा उनीहरूले गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई नजरन्दाज गरेकै कारण उनीहरू अहिले पार्टी कार्यालयहरूमा धर्ना दिन, ज्ञापन पत्र बुझाउने गरिरहेको सांसद शर्माले बताइन् ।


धेरै पढिएको