मनोरञ्जनका क्षेत्रमा महिला हिंसाका घटना बढेका छन् – अनुराधा कोइराला
काठमाडौं । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसाको समस्या बढेको बताएकी छन् ।
आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजना गरिएको ‘महिला चलचित्र महोत्सव’ को समापन समारोहमा अध्यक्ष कोइरालाले काठमाडौं उपत्यकामा मनोरञ्जनका क्षेत्र भनिने पब, लाउञ्ज, डान्स क्लबलगायत काम गर्ने अधिकांश किशोरीको उमेर १८ वर्ष रहेको र त्यहाँ हुने हिंसाका गुनासा बढिरहेको बताइन् ।
‘नेपालबाट महिलाको बेचबिखन गरेर विदेश लगिन्छ भनेर हामीले काम गरिरहेका छौँ । अहिले टोल–टोलमा खुलेका डान्स क्लब, पब, लाउञ्जमा काम गर्ने केटीहरू साना उमेरका हुनुका साथै हिंसाको शिकार भइरहेका छन् । उनीहरू कुलतमा फस्ने गरेको गुनासो मैले सुनिरहेकी छु । यसमा हामीले ध्यान दिनु आवश्यक छ,’ उनले भनिन् ।
कोइरालाले आफूले यसका लागि काठमाडौं महानगरपालिकासँगै अन्य सरोकारवाला निकायसँग छलफल गरे पनि परिणाम नदेखिएको बताइन् । महिला हिंसा रोक्ने र सचेतना बढाउने विषयलाई चलचित्रमा स्थान दिन चलचित्रकर्मीलाई उनले आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस