रिंकु सदा मृत्यु प्रकरणः वडा सदस्यसहित थप ४ जना पक्राउ
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा मृत्यु प्रकरणमा वडा अध्यक्ष सहित थप चार जना पक्राउ परेका छन् । पञ्चायतीमा संलग्न वडा सदस्यसहित चार जना पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा वडा सदस्य नथुनी साहसहित चार जना छन् । उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन् । यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रुपेश मण्डल र जाहेरीमा नाम नभएपनि पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो ।
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहान रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्य सहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस