लुम्बिनीमा चाइनिज फिल्मको सुटिङ हुने

नवनारी
४ चैत २०८१
180 Views

काठमाडौँ । भगवान बुद्धको जन्मस्थान लुम्बिनीमा चाइनिज चलचित्रको छायाकन हुने भएको छ । ‘म कहिल्यै नमरी जीउन चाहन्छु’ नामक चलचित्रको एकतिहाई भाग बुद्धजन्मस्थल लुम्बिनीमा छायांकन गर्ने गरी चलचित्रका निर्माता तथा कलाकारहरूले लुम्बिनीमा छलफल समेत गरेका छन् । चिनियाँ कलाकारहरूको टोलीले लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरूसँग लुम्बिनीमा चलचित्रको छायांकन गर्ने विषयमा छलफल गरेका हुन् । चलचित्रका निर्माता चाउ डिफिङले आफूहरू अहिले चलचित्रको छायांकनको लागि प्रारम्भिक जानकारी लिन मात्रै आएको बताए ।

उनले चलचित्रमा चिनियाँ दूतावास सहित लुम्बिनी र बुद्धसँग सम्बन्धित स्थलहरूमा छायांकन गराइने जानकारी दिए । चलचित्र निर्माण तथा कलाकारहरूको टोलीले पहिले चिनियाँ दूतावासमा छायांकन गरेर पछि मात्रै लुम्बिनीमा छायांकनका लागि आउने बताए । उनले चलचित्रमा बुद्धको जीवनको सन्देशलाई उतार्न खोजिएको र लुम्बिनी आएर छायांकन गरेपछि मात्र चलचित्रले पूर्णता पाउने बताए ।

निर्माता चाउसँगै छायांकार डेङ्ग छुङमिन समेत लुम्बिनी आएका थिए । लुम्बिनी विकासकोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बुद्ध र लुम्बिनीको सकारात्मक रूपमा प्रचार गर्ने गरी चलचित्र निर्माण हुने कुराले खुशी तुल्याएको बताए । उनले चलचित्रले चीनका नागरिकहरूमा बुद्ध र लुम्बिनीका बारेमा सकारात्मक प्रभाव पार्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।


धेरै पढिएको