चलचित्र ‘खेल’ को पोस्टर सार्वजनिक

नवनारी
५ चैत २०८१
155 Views

काठमाडौं –आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘खेल’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहेका छन् । रोयल भीमसेनले डिजाइन गरेको पोस्टर रहस्य र डर झल्काउने गाढा निलो र कालो रंगको संयोजनमा तयार पारिएको छ ।

यसको अगाडिको भागमा स्कुले विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण दर्साउने आँखाहरूको डरलाग्दो छाँया देखिन्छ । पोस्टरमा चन्द्रमा पनि समावेश छ, जुन रहस्यपूर्ण कथावस्तुसँग सम्बन्धित हुन्छ । अगाडि हेडफोन लगाएकी अभिनेत्री सुरक्षा पन्त फिल्मकी प्रमुख पात्र रहेको पोस्टरले जनाउँछ । ‘खेल’ शीर्षक पनि फरक शैलीमा डिजाइन गरिएको छ ।

‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । यसको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ । अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीहरूको कथा फिल्मले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ । यसमा किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ ।

यो फिल्म सिरूपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह–निर्माताहरू कुणानराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । फिल्मको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् । संवाद विष्णु गैरेले लेखेका छन् ।


धेरै पढिएको