गर्मीमा छालालाई सुरक्षित राख्ने ७ टिप्स

नवनारी
५ चैत २०८१
257 Views

गर्मी मौसम सुरु भएको छ । गर्मी मौसममा छालाको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता सबैमा हुन्छ । गर्मीका कारण शरीरमा पसिना आउँने गर्छ । पसिना र बाहिरी वातावरणको धुलो धुवाँ मिलेपछि छालालाई असर गर्छ । गर्मी मौसममा छालालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा विशेषज्ञहरु केही टिप्स दिनुहुन्छ । जुन यहाँ प्रस्तुत गरिएको छ ।

१. बडी लोसन
सकेसम्म छालालाई सुख्खा हुन दिनु हुँदैन। त्यसैले नुहाइसकेपछि शरीरमा बडी लोसन लगाउनुपर्छ । यसले घामबाट हुने एलर्जी, छालामा हुने सुख्खापनबमाट जोगाउँछ र छालालाई मुलायम बनाइराख्छ ।

२. फेसवासको प्रयोग गर्ने
सबै भन्दा बढी बाहिरी फोहोरले प्रभाव पार्ने ठाउँ भनेको अनुहार हो। दिनभरी अनुहारमा बाहिरी वातावरणले असर गरिरहेको हुन्छ। वा फोहोरहरु जम्मा भएको हुन्छ। त्यसैले हरेक दिन बिहान र बेलुका दुईपटक फेसवासले अनुहार धुने गर्नुपर्छ । फेसवासले अनुहारमा जमेको दिनभरिको धुलोमैलोलाई सफा गर्छ भने छालालाई फ्रेस बनाउँछ । सादा पानीले मात्र मुख धुँदा मुखमा जमेका फोहोर नपाल्न सक्छ । जसकारण मुखमा डन्डीफोर, एलर्जी जस्ता समस्या निम्त्याउन सक्छ ।

३. धेरै पानी पिउने
गर्मीमा धेरै पसिना आउने भएका कारण शरीरमा पानीको कमी हुनसक्छ । यसले गर्दा शरीरमा छाला सुख्खा हुने, एलर्जी र अनुहारमा दाग आउने समस्या आउन सक्छ । त्यसैले पानी धेरै पिउनुपर्छ । यसले शरीरमा भएको टक्सिन (शरीरभित्रको विषादी चीज) बाहिर निकाल्छ, जसले गर्दा अनुहारमा चमक आउँछ ।

४. खानपान र व्यायाम
छालाको लागि बाहिर क्रिम लगाएर मात्र होइन, शरीर स्वस्थ भएर पनि छाला स्वस्थ बनाउन सकिन्छ । जस्तै, भिटामिनयुक्त खानेकुरामा गोलभेंडा, कागती, अण्डा, दूध, दही, हरियो सागपात, एभोकार्डो खानामा समावेश गर्नुपर्छ । साथै हेल्दी डाइट, पर्याप्त निद्रा र योगा गरेमा छाला चम्किलो (ग्लो) दिन्छ ।

५. मोइस्चराइजर

छालालाई मुलायम बनाइराख्न मोइस्चराइजर क्रिम प्रभावकारी हुन्छ । यसले छाला फुट्ने, छाला पत्रपत्र भएर निस्किने र पोल्ने समस्या कम हुने गर्छ । यसको प्रयोगले छालामा पोषण प्राप्त हुन्छ, जसले गर्दा छाला ‘ग्लो’ गर्छ । यो क्रिमलाई अनुहार बाहेक घाँटी, हात तथा खुट्टामा समेत लगाउन सकिन्छ ।

६. सनस्क्रिन क्रिम लगाउने
घरबाट बाहिर निस्कनुभन्दा १५–२० मिनेट अगाडि सनस्क्रिन क्रिम लगाउनुपर्छ । सनस्क्रिन अनुहारमा मात्रै नभएर कपडाले नढाक्ने सबै भागमा लगाउनुपर्छ । यो लगाउनुअघि मोइस्चराइजर क्रिम लगाउनुपर्छ । सनस्क्रिन क्रिमले छालालाई घामको विकिरणबाट बचाउँछ । विकिरणबाट छालामा चायापोतो आउने, छाला कालो हुने समस्याबाट जोगाउँछ । सनस्क्रिन घरबाहिर हिंड्दा मात्र नभई घरभित्र बस्दा पनि सनस्क्रिन लगाउनु राम्रो हुन्छ ।

७. पाउडर
गर्मीमा पसिना आउनु त सामान्य नै हो । पसिनाको कारण हुने फंगल इन्फेक्सनबाट जोगाउन पाउडर लगाउन सकिन्छ । धेरै पसिना आउने ठाउँ जस्तै, काखी, घुँडामा पाउडर लगाउनुपर्छ । पाउडरले छालामा हुने विभिन्न संक्रमणबाट जोगाउँछ ।


धेरै पढिएको