झापामा मात्रै क्षयरोगका सात सय नयाँ बिरामी फेला

नवनारी
११ चैत २०८१
224 Views

झापा । चालु आर्थिक वर्षको फागुनसम्म झापामा मात्रै क्षयरोगका ७०० नयाँ बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या ४८ थियो ।

कार्यालयका अनुसार ४७१ जनाको फोक्सोमा क्षयरोग देखिएको छ भने फोक्सोबाहेकमा १६२ जना, टिबी र एचआइभी दुवै भएका आठ जना, औषधि प्रतिरोधी क्षयरोगका बिरामी (डिआरटीबी) १६ जना छन् । झापामा आव २०७७/७८ मा ९९२, आव २०७८/७९ मा एक हजार १८६ र आव २०७९/८० मा एक हजार १६५ र आव २०८०/८१ मा एक हजार २६५ नयाँ क्षयरोगी फेला परेका थिए ।

स्वास्थ्य कार्यालय झापासँगै १५ वटा स्थानीय तहअन्तर्गतका ७९ वटा स्वास्थ्य संस्थामा क्षयरोगको निःशुल्क उपचार, निःशुल्क खकार परीक्षणका लागि २२ वटा माइक्रोस्कोपिक केन्द्र, तीन वटा जिनएक्स्पर्ट केन्द्र र डिआरटीबीको बिरामीका उपचारका लागि चार वटा सब डिआर सेन्टरको व्यवस्था छ ।

औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई प्रोत्साहन मासिक रु ५०० दिने गरिएको छ । सङ्घीय कार्यक्रम अन्तर्गत झापाको तीन वटा पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियान समेत सञ्चालित छ ।

‘हो हामी क्षयरोग अन्त्य गर्ने सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको अवश्यकता’ भन्ने नाराका साथ आज देशभर विश्व क्षयरोग दिवस मनाइँदै छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ ।


धेरै पढिएको