म्यानमारका भूकम्प प्रभावित क्षेत्रमा नेपाली उद्धार टोली, थप एक साता उतै रहेर सेवा दिने

नवनारी
२८ चैत २०८१
197 Views

काठमाडौँ । भूकम्पले नराम्रो संग प्रभावित म्यानमारमा नेपालबाट गएका चिकित्सकसहितको मेडिकल टोलीले घाइते तथा बिरामीहरुलाई उपचार सेवा दिइरहेको छ । नेपालबाट चैत २० गते भूकम्प प्रभावित क्षेत्रमा औषधि लगायतका स्वास्थ्य सामग्री लिएर नेपाली टोली म्यानमार गएका हुन् । म्यानमारमा चैत १५ गते ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण पाँच हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते छन् ।

नेपालबाट खटिएको मेडिकल टोली म्यानमारको म्यान्डलेस्थित यामाथिन सहरमा उपचार सेवामा खटिएको छ । नेपालको टोलीले राखेको मेडिकल शिविरमा उपचार सेवा लिन आउने बिरामीको चाप बढीरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपालबाट गएका टोलीमा विशेषज्ञ शल्य चिकित्सक प्राविधिक प्रमुख सेनानी डा. विकासबहादुर रायमाझी, हाडजोर्नी विशेषज्ञ प्राविधिक प्रमुख सेनानी डा. मोहित थापालगायत मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिक रहेका छन् ।

निर्देशनालयका अनुसार मेडिकल टोलीले सात सयभन्दा बढी भूकम्पपीडितको उपचार गरी मेडिकल राहत सामग्री उपलब्ध गराएको छ । टोलीले गम्भीर घाइते भएका ६० जनाभन्दा बढीको जटिल शल्यक्रिया र ९० जनाभन्दा बढीको हाडजोर्नी उपचार गरिसकेको छ । एक हप्ताका लागि गएको टोलीले सञ्चालन गरेको शिविरमा सेवाग्राहीको चाप बढेपछि थप एक साता बसेर सेवा दिने भएका छन् ।


धेरै पढिएको