दुबईमा नेपाली पहिचान झल्काउने फेस्टिभलकाे आयोजना हुँदै
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को दुबई सहरमा पहिलो पटक नेपाली पहिचान झल्किने फेस्टिभल आयोजना हुने भएको छ । नेपाली दूतावासको संरक्षण, गैर आवासीय नेपाली संघ (एनआरएन) शाखा युएई, नेपाली समाज तथा क्रियाशील ६ दर्जनभन्दा बढी संघसंस्था मिलेर यो फेस्टिभल आयोजना गर्न लागिएको हो ।
फेस्टिभलको मुख्य उद्देश्य नेपाली कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव मनाउनु हो । फेस्टिभल अप्रली, २० मा दुबईको क्रिक पार्कमा हुनेछ । उक्त फेस्टिभलमा युएईको सातवटै सहरबाट व्यवसाय गरिरहेका नेपाली व्यवसायी सहभागी हुनेछन् ।
यो फेस्टिभलले व्यवसायको प्रचार–प्रसार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । फेस्टिभल बिहान १० बजेदेखि बेलुका १० बजेसम्म हुनेछ । फेस्टिभलमा नेपाली सहित २० हजारभन्दा बढी सहभागी गराउने आयोजकको योजना छ ।
यस फेस्टिभलले नेपाल र युएइबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै नेपाली समुदायबीच आपसी एकता, सहयोग र परम्परागत पहिचानको उत्सवको रूपमा मनाउने अवसर प्रदान गर्नेछ । फेस्टिभलमा विभिन्न प्रकारका ५० भन्दा बढी व्यापारिक प्रदर्शनी स्टलहरू रहनेछन् ।

प्रतिक्रिया दिनुहोस