राजेश हमालको कम ब्याक चलचित्र ‘नरसिंहाः अवतार’को गीत ‘अच्छा लेकिन लन्डनको’ सार्वजनिक

नवनारी
४ वैशाख २०८२
219 Views

काठमाडौं । अभिनेता राजेश हमालको प्रतीक्षित कम ब्याक चलचित्र ‘नरसिंहाः अवतार’मा समावेश गरिएको चर्चित गीत ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’को ‘रिक्रिएटेड भर्सन’ सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक समारोहमा गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियो म्यूजिक नेपालको युटुव क्यानलबाट सार्वजनिक गरिएको छ ।

चलचित्र ‘दैव सन्जोग’को यो सदाबहार गीतलाई जेठ ९ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘नरसिंहाः अवतार’ का लागि पुनः निर्माण गरिएको हो । ओरिजिनल गीतमा स्वर रहेका लोकप्रिय गायक शम्भुजित बास्कोटाले नै यस नयाँ संस्करणमा पनि आफ्नो आवाज दिएका छन् । उनलाई चर्चित गायिका रचना रिमालले साथ दिएकी छिन् । गीतको शब्द र सङ्गीत भने शम्भुजित बास्कोटाकै रहेको छ ।

कविराज गहतराजको आकर्षक कोरियोग्राफी रहेको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् भने यसको सम्पादन साहिल खानले गरेका छन् । भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सुपरस्टार राजेश हमाल, राज कटुवाल, नव–अभिनेत्री नीति शाह, सनिषा भट्टराई, अनुभवी कलाकार सरोज खनाल, दीपा शाही,उषा खड्गीका साथै बाल कलाकार एभेलिना खड्का र समाइरा थापाको ऊर्जावान् नृत्य देख्न सकिन्छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको ‘नरसिंहाः अवतार’ मा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जङ्ग बस्नेत, प्रकाश जङ्ग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ ।

चलचित्रमा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको छायाङ्कन, समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा नेम महर्जनको मुख्य लगानी रहेको छ भने दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले पनि लगानी गरेका छन् ।

भिडियोः


धेरै पढिएको