चलचित्र ‘झिल्को’ को प्रदर्शन आजदेखि

नवनारी
१९ वैशाख २०८२
213 Views

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’ बिहीबार साँझ ग्राण्ड प्रिमियरसँगै शुक्रबार (आज)बाट सार्वजनिक प्रदर्शनमा आएको छ । वितरण कम्पनी डिसिएनले उपलब्ध गराएको तथ्यांक अनुसार फिल्म आज देशभर ११६ शोमार्फत प्रदर्शनमा आएको छ ।

काठमाडौंमा सम्पन्न प्रिमियरमा उपसभामुख इन्दिरा राना मगरको विशेष उपस्थिति रह्यो । उनले फिल्मले उठाएको विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै ‘झिल्को’ हरेक व्यक्तिको लागि फिल्म एउटा सिकाइ रहेको धारणा राखिन् ।
‘झिल्को’ ले बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता र डिजिटल कुलतले पारेको पारिवारिक विखण्डनजस्ता विषयवस्तुलाई प्रस्तुत गरेको छ । बालिकाको मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छन् भने साथमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

यसअघि ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईद्वारा निर्देशित फिल्म मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको हो । फिल्मको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका हुन् ।

पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो । फिल्मका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । फिल्म जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।


धेरै पढिएको