प्रिसा साहबारे भारतसँग कूटनीतिक संवाद अघि बढाउन संसदमा रुलिङ

नवनारी
२२ वैशाख २०८२
165 Views

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी विद्यार्थी प्रिसा साहबारे भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन सरकारलाई सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले आकस्मिक समयमा यो विषय उठाएका थिए । त्यसपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन् । साह झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यो विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको सभामुख घिमिरेले बताएका छन् ।

‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो ।

सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु’,सभामुखले भने । साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलका लागि पनि सभामुख घिमिरेले अपिल गरेका छन् ।


धेरै पढिएको