आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि चाँगुनारायणले थाल्यो सुझाव संकलन

नवनारी
२८ वैशाख २०८२
267 Views

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका लागि राय सुझाव संकलन थालेको छ । अज अन्तर्गत शुक्रबार नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आगामी आर्थिक वर्षको लागि सुझाव संकलन गर्ने कार्यको थालनी गरिएको बताए । पहिलो चरणमा सहकारी, गैर सरकारी संघसंस्था तथा उपभोक्ता समितिसँग सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

उनले विगतमा नपरेका र छुटाउनै नहुने राम्रा कामका सम्बन्धमा नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयलाई नगरपालिकासमक्ष सुझाव दिन आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले नगरपालिकाले विकास निर्माण कार्यलाई निरन्तर जारी राखेको बताउँदै चालु आर्थिक वर्षका योजनाहरु कार्यान्वयनको चरणमा रहेको बताए । उनले वडाबाट आउने बजेट भन्दा फरक विषय भए सिधै नगरपालिकामा पेश गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा योजना शाखा प्रमुख तथा नगरपालिकाका सूचना अधिकारी अनुप लामिछानेले नगरपालिकाले आगामी आर्थिक वर्षदेखि साना आयोजनालाई निरुत्साहित गर्ने र ठूला आयोजनालाई प्राथमिकता दिने नीति अनुशरण गर्न लागेको जानकारी गराउदै ईमेल वा लिखित रुपमा पनि योजना शाखामा आफ्ना सुझाव दिन आग्रह गरेका छन् । कार्यक्रममा सहभागि प्रतिनिधिहरुले आ–आफ्नो सुझाव पेश गरेका थिए ।


धेरै पढिएको