मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ माथि छलफल
काठमाडौँ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ को बिषयमा छलफल गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति काठमाडौँको आयोजनामा बिहीबार एक कार्यक्रमका बिच छलफल गरिएको हो । काठमाडौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२’ विषयक छलफल कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विपद् व्यवस्थापन सुरक्षा युनिट, काठमाडौँ जिल्लाका विभिन्न स्थानीय तहका जन प्रतिनिधि, सडक डिभिजन कार्यालयका प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मनसुन सुरु हुनु पूर्व नै पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ को मस्यौदालाई अन्तिम रुप दिनका लागि सल्लाह सुझाव संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए । उनले आगामि २ दिन भित्रमा थप सुझाव सल्लाह भएमा पठाउन आग्रह समेत गरे । भण्डारीले बैठकमा काठमाडौमा विपद्को अवस्थाबाट जानकारी गराएका थिए ।
कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी तिवारीले सम्पूर्ण क्षेत्रको सल्लाह सुझावलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिने बताए । उनले उद्धार तथा पूर्व अभ्यास गर्ने, तिन तहकै सरकारसंग समन्वय गरेर आगामी योजनाहरु बनाइरहेको बताए ।
छलफल कार्यक्रममा सहभागि विभिन्न क्षेत्रका प्रतिनिधिहरुले पूर्व तयारीबारे सबै क्षेत्र सचेत हुनुपर्ने बताएका छन् । विशेष गरी काठमाडौँको बागमती नदी, धोबी खोला, मनोहरा खोला, विष्णुमति नदी किनारमा बाढी जोखिम धेरै हुने भएकाले अहिले देखि नै सतर्कता अपनाउनुपर्नेमा सहभागिहरुले जोड दिए । जसको लागि पूर्व सूचना प्रर्णालीको विकास गर्नुपर्ने, जोखिमपूर्ण बस्तीलाई व्यवस्थित रुपमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।
गत वर्षको असोजमा आएको बाढी र उद्धारबाट पाठ सिक्दै आगामि दिनमा थप रणनीति तयार पार्नुपर्नेमा सहभागिहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस