नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा १५ देशका ३१ फिल्म देखाइने

नवनारी
१३ जेठ २०८२
226 Views

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक गरिएको छ । गतवर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धा रहेको मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’, गत वर्षकै भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको दीपक रौनियार निर्देशित फिल्म ‘पूजा सर (राजागंज)’ र अमेरिकाको नेपाली डायस्पोरामा बनेको विनोद पौडेल निर्देशित फिल्म ‘भुठानः द वर्ल्ड हापिस्ट म्यान’ लगायतका फिल्म महोत्सवमा प्रदर्शन हुनेछन् ।

यहि जुन महिनाको २६ देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदी लगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्म र एनिमेसन गरी ३१ फिल्महरू प्रदर्शन हुनेछन् । महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुनेछ ।

चार दिनसम्म चल्ने महोत्सवका फिल्महरू भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ । महोत्सवमा प्रदर्शनका लागि आवेदन परेका मध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीहरूको छनोट समितिले फिल्महरू छनोट गरेको हो ।

फिल्म ‘शाम्बाला’ को प्रदर्शनबाट एएफआई सिल्भर थिएटर जुन २६ तारिक बिहीबार महोत्सवको उद्घाटन हुनेछ । महोत्सवको समापन ‘पूजा सर (राजागंज)’ को प्रदर्शनसँगै जुन २९ तारिक आइतबार सोही स्थानमा हुनेछ । फिल्म ‘भुठानः द वर्ल्ड हापिस्ट म्यान’ को पनि रेड कार्पेट सहित निर्देशक, कलाकार, निर्माता तथा निर्माण टोलीका सदस्यहरूको विशेष प्रदर्शन हुनेछ ।

ग्लोबल पिस फिल्म फेस्टिभल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङ्ः द रेस फोर क्रिटिकल मिनिरल’ र निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरी दुई फिल्म प्रदर्शन हुनेछन् । सुबिना श्रेष्ठ निर्देशित अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रसंशा भएको वृत्तचित्र ‘देवी’ र अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र ‘वि आर इनसाइड’ पनि होत्सवमा प्रदर्शन हुनेछन् । प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको फिल्म ‘अ क्रिष्टमस बोनस’ लगायतका फिल्महरू डीएमभी–क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन् ।

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्महरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । पुरस्कार छनोटका लागि निर्णायक मण्डलको नाम भने केहि दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । महोत्सव अवधिमा फिल्म र संस्कृति, ‘प्यानल’ छलफलका साथै र फिल्म निर्माणबारे ‘मास्टर क्लास’ पनि हुनेछ । म्यारिल्याण्ड राज्यको पाक्र्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।


धेरै पढिएको