अमेरिकाले अस्थायी रुपमा रोक्यो ‘विद्यार्थी भिसा’

नवनारी
१४ जेठ २०८२
198 Views

काठमाडौं । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । मंगलबार जारी कूटनीतिक केबल अनुसार यहूदी–विरोधी भावना फैलाउने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने लक्ष्य राखेर यस्तो निर्णय गरिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको अलजजिराले जनाएको छ । समाचारमा लेखिएअनुसार यो निलम्बन कहिलेसम्म जारी रहन्छ भन्ने स्पष्ट छैन । त्यसबारे दूतावास र वाणिज्य दूतावासका कर्मचारीहरुलाई ‘केही दिनभित्र’ दिशानिर्देश प्राप्त हुने भनिएको छ ।

अर्को निर्देशन नआएसम्म नयाँ अन्तर्वार्ता तालिका नथप्न भनिएको छ । पहिले नै निर्धारित अन्तर्वार्ताहरू भने जारी रहनेछन् । विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भिसा प्रक्रियामा ढिलाइबारे टिप्पणी गर्न अस्वीकार गर्दै प्रवेश जाँचलाई गम्भीरतापूर्वक लिइने बताएकी छन् । विदेशमन्त्री मार्को रुबियोले गत हप्ता भिसालाई ‘विशेषाधिकार’ भन्दै क्याम्पसमा बाधा पुर्‍याउने विद्यार्थीको भिसा खारेज गर्ने चेतावनी दिएका थिए । यो कदम हार्वर्ड विश्वविद्यालयमाथि विदेशी विद्यार्थी भर्ना रोक्ने गृह सुरक्षा विभागको प्रयासपछि आएको हो, जुन शुक्रबार अदालतले रोकिदिएको थियो ।

ट्रम्प प्रशासनले हार्वर्डसँगको १० करोड डलरको सम्झौता रद्द गर्ने र अनुदान ट्रेड स्कुलमा स्थानान्तरण गर्ने योजना बनाएको छ । यस नीतिले नेपाली विद्यार्थीहरूलाई पनि असर गर्ने देखिएको छ । अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि हजारौँ नेपाली जाने गरेका छन् । अमेरिकाले विश्वभरबाट १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी स्वीकार गर्छ ।


धेरै पढिएको