यो वर्षको मनसुनः २० लाख बढि मानिस प्रभावित हुने अनुमान
काठमाडौँ । यो वर्षको मनसुन भित्रिने क्रममा छ । जसमा यो वर्ष सरदर भन्दा धेरै वर्षा हुने अनुमान गरिएको छ । सरकारले यो वर्षको मनसुन अवधिमा देशभरका करिब २० लाख जनसंख्या प्रभावित हुने अनुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ मा देशभरका ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आँकलन गरेको उल्लेख छ । आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औं बैठक कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक बस्यो ।
उक्त बैठकले यस वर्षको मनसुनको पूर्वानुमान, विपद्बाट प्रभावित हुने अनुमानित केसलोड, मनुसनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकारवाला मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यका लागि आवश्यक सम्पर्क विवरण, सामग्रीहरूको मौज्दात तथा दक्ष जनशक्तिको विवरण समेटिएको उक्त कार्ययोजना पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस