अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएसको नयाँ शाखा अब काठमाडौंमा

नवनारी
१६ जेठ २०८२
328 Views

काठमाडौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्यूटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौंको नयाँबानेश्वरबाट सञ्चालनमा आएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरेकी छन । आइएसएएसमा ब्यूटीसम्बन्धी छोटा तथा लामो अवधिका तालिम प्रदान गरिनेछ । एकेडेमीमा तालिमप्राप्त जनशक्तिले विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गर्न सक्ने जनाइएको छ ।

अभिनेत्री सिवाकोटीले आइएसएएस उद्घाटन गर्दै महिला सशक्तीकरणको अभियानअन्तर्गत उनीहरूलाई सीपमूलक रोजगारी हासिल गर्न एवं उद्यमी बनाउनका लागि पनि एकेडेमीले भूमिका निर्वाह गर्ने बताइन् । ब्यूटीसम्बन्धी अन्तर्राष्ट्रिय कोर्स अध्यापन गराउने उद्देश्यले कम्पनीले भारतका विभिन्न सहर, दुबई र श्रीलंकासँगै नेपालमा पनि स्कुल स्थापना गरेको हो ।

अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा प्रसिद्ध ग्लोबल ब्यूटी आइकन भक्ति साप्केले सुरु गरेको अन्तर्राष्ट्रिय ब्रान्ड हो । करिब दुई दशकभन्दा लामो अनुभव भएकी साप्के ‘सिडेस्को सेक्सन युएइ’की अध्यक्ष समेत हुन् । साप्केको नेतृत्वमा आइएसएएसले ११ आउटलेट विस्तार गरेको छ । साथै अमेरिकामा पनि शाखा खोल्ने तयारी अघि बढाएको उनको भनाइ छ । ‘हामीले अहिले स्कुल मात्रै सुरु गरेका छैनौँ, महिला सशक्तीकरणका लागि पनि काम गर्दै छौँ,’ साप्केले भनिन्, ‘स्कुलले यहाँका जनशक्तिलाई विश्वस्तरीय तालिम प्रदान गरी वास्तविक करिअर छनोटका लागि पनि सहयोग गर्नेछ ।’

एकेडेमीमा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्याश एक्सटेन्सनलगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रम पढाइ हुनेछ । यी कोर्स पूरा गरेपछि विद्यार्थीले सिडेस्को (स्विट्जरल्यान्ड), पिभोट पोइन्ट (अमेरिका), एलएटिटी (लन्डन), केएचडिए र डिएचए (दुबई) तथा टिभिइटी (यूएई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।


धेरै पढिएको