कृषि उत्पादन र बजारीकरण तीनपाटनको प्रमुख प्रथामिकता

नवनारी
१९ जेठ २०८२
370 Views

सिन्धुलीका स्थानीय तहमध्ये तीनपाटन गाउँपालिका एक महत्वपूर्ण स्थानीय तह हो । भौगोलिक रुपमा लेक तथा भित्री पहाडले ढाकिएको यस स्थानीय तहमा कृषि उत्पादन, व्यवसायीकरण, औद्योगिकरण, पर्यटन तथा अन्य थुप्रै सम्भावनाहरु रहेका छन् । जनगणना २०७८ अनुसार करिब ३४ हजार ८ सय ८९ जना मानिसको बसोबास रहेका यस स्थानीय तहले कृषि क्षेत्रलाई प्रमुख प्रथामिकता दिँदै विभिन्न कार्यक्रमहरु अघि बढाइरहेको छ । गाउँपालिकाको समृद्धिकालागि अन्य क्षेत्रमा भन्दा कृषिमा बढी सम्भावना रहेकाले कृषिमा बढी प्रथामिकता दिइरहेको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले बताए । कृषि उत्पादनमा अत्मनिर्भर हुँदै रोजगार तथा व्यवसायीकरण तर्फ धकेल्दै जाने भावी योजना उनको छ । तीनपाटन गाउँपालिकाको चालु आर्थिक वर्षको प्रगति विवरण, आगामी आर्थिक वर्षको योजना, बजेट खर्चको अवस्था लगायतका विषयमा वसन्त भण्डारीले गरेको कुराकानीः

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट नीति तथा कार्यक्रम कस्तो ल्याउँदै हुनुहुन्छ ?

आगामि आर्थिक वर्षको बजेटमा हामीले कृषि क्षेत्रलाई नै प्रमुख प्रथामिकता दिएर नीति तथा कार्यक्रम ल्याउँदै छौँ । यसका साथै स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखेका छौँ । शिक्षाका कुराहरुलाई सुधारको लागि पहल गर्ने नीति बनाएका छौँ । रोजगारी सृजना गर्ने कुराहरु छन् यी सबै क्षेत्रलाई प्रथामिकता दिएर जनतालाई जतिसक्दो आफ्नै ठाउँमा रोजगारमुखी, व्यावसायीमुखी बनाउने कुरामा हामी सचेत छौँ । अन्य नियमित योजनाहरु त आफ्नो ठाउँमा अघि बढिनै हाल्छन् । अन्य पूर्वाधार निर्माणका कुराहरु पनि हाम्रो प्रथामिकतामा छन् । प्रदेश सरकार र केन्द्र सरकारसंग समन्वय गरेर गाउँपालिकाको केन्द्र सम्मै आउने सडकलाई कलोपत्रे गर्नको लागि पहल कदमी गरीरहेका छौँ ।
चालु आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था कस्तो छ ?

हामी चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार नै यहाँ सम्म आएका छौँ । अहिले हाम्रो बजेट कार्यन्वयनमा पहिले भन्दा धेरै सुधार भइसकेको छ । कृषि क्षेत्रमा उल्लेखनिय प्रगति भएको छ । नीजि क्षेत्रबाट पनि थुप्रै लगानी भएको छ । मलाई लाग्छ आगामी दुई वर्षमा किसानहरु एक कदम अघि बढेको पाइनेछ ।

अहिले कृषि क्षेत्रमा जलवायु परिवर्तको असर पनि परीरहेको छ । हाम्रो स्थानीय तहमै पनि हिजो जुन समयमा बालिनाली फल्थ्यो, पहिला–पहिला मकै छरेर पाक्न करिब करिब असार, साउन कुर्नुपथ्यो तर अहिले भने हाम्रा किसानहरुले फागुन महिनाबाटै मकै फलाउन थालेका छन् । त्यसलाई बजार सम्म लगेर बेच्ने गरी व्यवसायीमुखी भएका छन् त्यो आफैमा एक राम्रो कुरा पनि हो । बजारीकरणमा पनि हामीले समन्वय गरेका छौँ । हामीले प्रत्येक वडामा कृषि प्राविधिक राखेका छौँ जसले किसानलाई निशुल्क रुपमा सेवा दिनुहुन्छ । अन्न बालीमा केहि समस्या भएमा समाधान गर्नुहुन्छ, हामीले अन्य संघ संस्थाहरु संग समन्वय पनि गरेका छन् ।

तर दुखको कुरा जलवायु परिवर्तका कारण पानीका मुहानहरु सुक्ने,कहिल्यै पानी नै नपर्ने भने कहिल्यै धेरै पर्ने जस्ता समस्याहरु देखिएका छन् । सिँचाईको समस्यालाई कम गर्नको लागि ईनार खन्ने अन्य प्रविधिको प्रयोगबाट सिँचाईलाई अघि बढाएका छौँ । त्यो जनताको लागि स्वास्थ्य सुलब र सजिलो र समयको पनि बचत पनि भएको छ । महिला सहकारी दर्ता गरेर महिला समूह बनाए परिचालन समेत गरेका छौँ । समग्रमा चालु आर्थिक वर्षमा हाम्रो प्रगति एकदमै राम्रो देखिन्छ ।

कृषि क्षेत्रलाई प्रथामिकता दिइरहँदा त्यसको उपलब्धी कस्तो भइरहेको छ ?

हाम्रो गाउँपालिका मासु जन्य कुरामा अहिले आत्मनिर्भर भएको छ । बोइलर कुखुरा देखि लगेर खसी, राँगाको मासु स्थानीय तहमै पर्याप्त छ । हामी दुधजन्य कुरामा पनि आत्मनिर्भंर छौँ । तरकारी र चामलको सन्दर्भमा के छ भने स्थानीय उत्पादन भन्दा बाहिरबाट आएको अलि सस्तो पाउने भएकाले लोकल चामलले प्रथामिकता पाउन सकेको छैन् । मौसमी तरकारीहरु एकै पटक धेरै फल्ने तर बेमौसमी कम हुने भएकाले तरकारीमा आत्मनिर्भर अझै हुन सकेको छैन ।

खेतियोग्य जमिन पर्याप्त मात्रामा छ त्यसमा कृषि खेती पनि भइरहेको छ तर त्यतिले मात्रै त्यहाँ धान्न सक्ने अवस्था छैन । हामी संग राइस मिल पनि छैन त्यस कारणले स्थानीय उत्पादन भन्दा पनि बाहिरको उत्पादन सहजै आउने भएकाले गाउँको धान कसैले किन्दैन । र अर्को कुरा अहिलेको सन्दर्भमा त्यहाँको धान खेतीले गाउँपालिकालाई धान्ने अवस्था पनि छैन ।

कृषिमा आत्मनिर्भर हुने केहि योजना छ ?

हामीले धान खेतीलाई भन्दा पनि तरकारी खेतीलाई बढि प्रथामिकता दिएका छौँ । तरकारी संकलनको लागि संकलन केन्द्र स्थापना गर्ने र सहकारीलाई जिम्मा दिने त्यसपछि यहाँ खपत भएको हुन्छ नभएको बाहिर पठाउने त्यसको लागि हामी पलानिङमा छौँ यो वर्ष । मौसमी संगै बेमौसमी तरकारी उत्पादनलाई पनि प्रथामिकतामा राखेका छौँ ।

मनसुन भित्रिए संगै विपद्को जोखिम न्यूनिकरणको योजना के कस्ता छन् ?

हाम्रो स्थानीय तहमा खोलानालाहरु धेरै भएकाले बाढि संग संगै पहिरोको पनि जोखिम छ । हामीले प्रत्येक वडामा वडामार्फत प्रहरी कार्यालय अन्य संघ संस्थाहरु जो जो हामी संग सम्बन्धीत छन् जसले जनता संग सरोकार राख्ने सबै संघ संस्थालाई हामीले सचेत गराएका छौँ । मनसुनबाट पर्ने जोखिमलाई सकेसम्म कम गर्ने हाम्रो तयारी रहेको छ ।

देशभर गाउँबाट शहर, शहरबाट विदेश जाने लहरले कत्तिको असर पारेको छ ?

हाम्रो पालिकामा पनि विदेश जाने लहर एकदमै बढेको छ । हाम्रो पालिकामा संस्थागत र समुदायीक गरेर २१ वटा माध्यामिक विद्यालय छन् र ३ वटा कलेज पनि छन । कक्षा १२ पास गरिसकेपछि उनीहरुलाई स्वदेशमै अथवा गाउँमा रोक्नको लागि रोजगारी चाहियो त्यसको लागि ठूला कलकारखाना, उद्योग धन्दाहरु खुल्ने सम्भावना छैन यहाँ । त्यस कारणले हामीले कृषि क्षेत्रमै केन्द्रीत गराउनुपर्नेछ । जसको लागि प्राविधिक सहयोग गर्ने, कृषि अध्ययन, अनुदान दिने, परिचालित गर्ने बजारीकरणको कुरालाई सहयोग गर्ने यस्तो खालका कुराहरुलाई प्रथामिकता दिएर कृषि र पशुपालनमा जोड दिएको अवस्थामा केहि हत सम्म युवाहरु लाई स्वदेशमै रोक्न सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । कोहि विदेशबाट काम गरेर आएका भए त्यहाँको अनुभव यतै देखाउने अवसर पनि छ । केहि वर्षमा युवाहरु यही रोकिने सम्भावना र विश्वास हामीले बोकेका छौँ ।

चालु आर्थिक वर्षमा युवा लक्षित के कस्ता कामहरु गर्नुभयो ?

हामीले धेरै काम गएका छौँ । सकेसम्म स्वदेशमै केहि गर्नुस् यदि विदेश जानैपर्ने भएपनि बिना सिप नजानुस् । भनेर हामीले उहाँहरुलाई तालिम दिएका छौँ । ड्रईभिङ तालिम, पलम्बिङ, कुक, डकर्मीको लागि तालिम दिएका छौँ । यसरी रोजगारी सृजर्ना गरेर स्वदेशमै पनि गर्न सकिन्छ सकेसम्म यतै केहि गर्नुस नभए विदेश पनि केहि सिप सिकेर जानुस् । महिलाहरुको लागि अछार बनाउने तालिम, मुडा बनाउने तालिम, टेलरिङ, ढाँका बुन्ने तालिम दिएका छौँ । त्यसको प्रभाव पनि देखि दिएको छ । केहिले यहि क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा गएर पनि राम्रो काम गरेर खानु भएको छ । तालिममा बसेर केहि गर्नुपर्छ भन्ने धारणासहित आएकाहरुले राम्रो गरेका छन् । कतिपयले गाउँपालिकाले दिने तालिम हो लिइराखौँ त भन्ने मात्र भएकाले प्रभावकारिता थोरै छ । तालिम लिने धेरै छन् तर प्रभावकारिता कमैमा भएको छ । त्यसलाई पनि उपलब्धि नै मान्नुपर्छ । र यो क्रमश वृद्धि भइरहेको छ ।

स्थानीय तह प्रति जनता किन निराश छन् ?

हैन कतिपय कुराहरु जनताले पनि डिटेलमा नबुझेर सामाजिक संजालमा लेख्ने चलन छ । आफुले ज मनमा लाग्यो त्यहि भन्ने चलन छ । हुन त लोकतन्त्रको राम्रो पक्ष त्यहि हो । तर लोकतन्त्रको नाममा गैरजिम्मेवार अभिव्यक्ति दिन पाइदैन । सिमितस्रोत र साधनले नेपालको कानून भित्र रहेर गर्नुपर्ने कामहरुमा जनताले गुनासो गर्नु स्वभाविक नै हो त्यो हाम्रोमा पनि हुन्छ । जनताको गुनासो छ तर हामी जिम्मेवार नागरिक हौँ । केहि नभएको हैन भएको छ तर केहि भएन भन्ने कुरलाई हामीले बुझाउँदै लानुपर्ने अवस्था छ । जनतामा अपेक्षाहरु पनि धेरै छन् यो पनि हुन्छ त्यो पनि हुन्छ भन्ने अवस्था छ । जनतामा मैले भनेको सबै कुरा पुरा हुन्छ भन्ने सोच भयो तर त्यो होइन है हामी संग सिमित स्रोत साधन छ भन्ने जिम्मेवारी हाम्रो नै हो । त्यो गुनासो आइराखेकै छ ।

जनताको फस्टेसन जायज हो, की होइन् ?

जनताको हिसाबमा यो ठिकै हो । किनकी नागरिकले आफ्नो आवाज राख्न पाउनै पर्छ । तर हाम्रोमा अहिले के भएको छ भने एकले अर्काको विरुद्धमा लाग्ने त्यसले यो व्यवस्था माथि नै राम्रो गर्दैन । कसका विरुद्धमा भन्दा पनि समग्रमा भएको अवस्थामा यसले यसले राम्रो सन्देश दिन्छ । जो गाउँमा बस्नुहुन्छ नागरिकले आफ्नो कुरा राख्नुहुन्छ त्यो एकदमै ठिक छ । जनताको मागलाई कसरी सम्बोधन गरेर लान सकिन्छ हुनुपर्नेमा सम्पूर्ण राजनीतिक दलहरु, समाजसेवी, सरोकारवालाहरु सबै एकजुट हुनुपर्ने देख्छु म । स्थानीय नागरिकहरु पनि केहि जिम्मेवार कतिपय ठाउँमा हुनुपर्ने देखिन्छ । नराम्रो कुरा संग संगै सुझाव सल्लाह सहित हामीले केहि नराम्रो गरेको अवस्थामा खबरदारी गर्नुपर्ने हुन्छ । सबै संग समन्वय जरुरी छ । खाली नकारात्मक भन्दा पनि रचनात्मक सहयोग हामीलाई जरुरी छ । किन भएन मात्र भन्दा पनि किसरी भएन् कसरी गर्न सकिन्छ यसमा पनि ध्यान दिनुपर्छ ।

गाउँपालिकाको मुख्य आम्दानीको श्रोत के हो ?

जनताको विकास भनेर हामी खर्च गर्नको लागि त उत्साहित भयौँ तर स्रोत व्यवस्थापन र परिचालनमा हामीले ध्यान दिएनौँ । हाम्रो खर्च व्यवस्थित रुपमा हुनसकेन, कहाँ कति लाग्छ भन्ने कुराको आँकलन गर्न सकेनौँ । आम्दानीका स्रोतहरु तर्फ हाम्रो ध्यान गएको छैन् । म अहिले दोस्रो पटक जनप्रतिनिधिको रुपमा छु । स्थानीय तहका पनि सबै ठाउँमा स्रोत छैन्, केहि क्षेत्रमा सिमित स्रोत छन् । प्रदेश सरकार र संघ सरकारको अनुदानबाट चल्नुपर्ने अवस्था छ । खर्चलाई व्यवस्थित गर्दै स्रोत वृद्धि तर्फ हामी सबैको ध्यान जानपनि एकदमै जरुरी छ । गिट्टी, बालुवा तथा स्थानीय कर लगायतबाट आउने श्रोतएकदमै सिमित छ ।

खर्चीलो प्रर्णालीले विकास निर्माणलाई असर गरेको हो ?

आर्थिक चन्दा, अनुदान बन्द गर्ने, साना–साना खर्च रोक्ने, कर्मचारीले बिल मिलाएर खाने प्रवृतिको हामीले अन्त्य गर्ने पर्यास गरीरहेका छौँ । हिसाबमा लागिरेहका छाैँ । हाम्रो स्थानीय तहमा यो नतिजा पनि देखिराखिएको छ । चालु आर्थिक वर्षको खर्च अघिल्लो वर्षको तुलनामा सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षमा झण्डै ९० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य छ । सत प्रतिशत बजेट खर्च नभएपनि हामीले प्रत्यक वर्ष सुधार हुँदै गएको छ ।


धेरै पढिएको