विपद्‌ कोषमा ४ अर्ब ६५ करोड रुपैयाँ मौज्दात, आपत्कालीन अवस्थामा खर्च गरिने

नवनारी
२१ जेठ २०८२
233 Views

काठमाडौँ । सरकारले विपद्‌ व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख मौज्दात रहेको जानकारी गराएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्‌का समयमा आपत्‌कालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिएका छन् ।

उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८९ करोड २९ लाख, केन्द्रीय विपद्‌ व्यवस्थापन कोषमा १ अर्ब २७ करोड ४७ लाख र प्रदेश विपद्‌ व्यवस्थापन कोषमा ७९ करोड ४१ लाख रुपैयाँ मौज्दात छ । कोशीमा ५ करोड, ९० लाख, मधेशमा ११ करोड ७८ लाख, बागमतीमा ७ करोड ५८ लाख, गण्डकीमा २५ करोड, लुम्बिनीमा ६ करोड ५० लाख, कर्णालीमा ९ करोड ५२ लाख र सुदूरपश्चिम प्रदेशमा ११ करोड ८९ लाख रुपैयाँ मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बाँस्तोलाले ७७ वटै जिल्लाका कोषमा ६९ करोड ५ लाख मौज्दात रहेको जानकारी दिए । प्राधिकरणले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक तयारी तीव्र गरिएको र विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकेको उनले बताए ।


धेरै पढिएको