समृद्ध नेपालका लागि विज्ञान र प्रविधिको प्रयोग आवश्यक – पूर्वराष्ट्रपति भण्डारी

नवनारी
२४ जेठ २०८२
308 Views

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी छन् । नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीनदिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको शनिवार उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले वैज्ञानिक सोच, अनुसन्धानमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने बताइन् । विज्ञान प्रयोगशालामा सीमित रहने विषय नभई मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पुर्‍याउने प्रभावकारी प्रक्रिया भएको बताइन् । विज्ञान, प्रविधि र गणितका विज्ञ र विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताइन् । ​

पूर्वराष्ट्रपति भण्डारीले नेपालमा मुलुकको समृद्धिका लागि चाहिने उपयोगी प्राकृतिक स्रोत, साधन र सम्पदा प्रचुर उपलब्ध रहेको बताउँदै तिनको दिगो र अधिकतम प्रयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धिमा साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधीन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्नुपर्ने बताइन् ।


धेरै पढिएको