चलचित्र बनाउँदै ‘बल्छी धुर्बे’, भदौदेखि छायांकन गर्ने तयारी
काठमाडौं । चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले फिल्म निर्माणको घोषणा गर्ने भएका छन् । केही दिनमा फिल्मको नाम सार्वजनिक गर्नेगरी तयारी भइसकेको छ । त्यसका लागि स्क्रिप्ट लेखन, नाम विकास बोर्डमा दर्तादेखि अन्य तयारीको काम सकिएको छ ।
मरिचमानले फिल्मबारे औपचारिक घोषणा गरिसकेका छैनन् । कस्तो कथामा फिल्म बन्ने ? कलाकार को रहने ? अहिले खुलाइएको छैन । ‘टाइटल पोस्टर सार्वजनिक गर्दैै फिल्मबारे जानकारी दिने तयारी हो,’ मरिचमानले भने । बुझिए अनुसार, भदौंदेखि छायांकनमा जाने गरी उनले फिल्मको तयारी गरिरहेका छन् ।
‘मेरी बास्सैु बाट चर्चामा आएका मरिचमान अहिले ‘हल्का रमाइलो’ र ‘जुठे’ सिरियलमार्फत दर्शकमाझ पुगिरहेका छन् । यी दुवै सिरियल चर्चित छन् । यसअघि सिरियलका चर्चित कलाकारहरू कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले फिल्म निर्माणमा पाइला चालिसकेका छन् । ‘सक्किगोनि’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’ गत फागुनमा रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस