नारायणी अस्पतालका चिकित्सकले सामूहिक रुपमा राजीनामा दिएका छन्

नवनारी
१२ साउन २०८३
48 Views

 

 

 

१२ साउन, काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक रुपमा राजीनामा दिएका छन् । ।गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुव्र्यवहार गरेको आरोप लगाउँदै चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका छन् । नारायणी अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् भने बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको जनाइएको छ । अहिले नारायणी अस्पतालको आकस्मिक सेवा नै ठप्प बनाएर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू सकारात्मक बनेका थिए ।

चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासन पाएपछि चिकित्सकहरु वार्ताका लागि सीडीओ कार्यालय पुगेका थिए । तर, त्यहाँको वातावरण एकाएक तनावपूर्ण बनेको स्रोतको दाबी छ । प्रशासनको व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् । ‘सबै चिकित्सकले राजीनामा दिएपछि अहिले अस्पतालको सेवा लगभग ठप्प छ ।

स्रोतका अनुसार वार्ताकै क्रममा नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको पनि राजीनामा माग्न सकिने चेतावनी दिएपछि सीडीओ आक्रोशित बनेका थिए । चिकित्सकहरु वार्ताबाट बाहिर निस्किँदै गर्दा प्रहरी परिचालन गरेर चिकित्सकलाई घेरा हाल्ने, मोबाइल खोस्ने काम भयो, फेरि कार्यालयभित्र लगेर झण्डै एक घण्टा नियन्त्रणमा राखियो । अपराधीलाई जस्तो व्यवहार गरियो । त्यसपछि यस्तो वातावरणमा काम गर्न सकिँदैन भन्ने निष्कर्षमा पुग्यौ स्रोतले भन्यों ।’
गत ८ साउनमा वीरगन्जस्थित नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिटतथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । अहिले डा. रामको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकले देशव्यापी रुपमा ओपीडी सेवा ठप्प पारेका छन् ।