पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः ४३ जना विद्यार्थी दीक्षित

नवनारी
३ माघ २०८१
192 Views

काठमाडौँ । पहिलो पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्नातकोत्तर तह पूरा गरेका ४३ जना विद्यार्थी दीक्षित भएका छन् । मेडिकल विज्ञान संकाय पोस्ट ग्राजुएट चिकित्सा डाक्टर र शल्यचिकित्सा स्नातकोत्तर, एमडी(एमएस) का प्रथम ब्याचका १७ र र दोस्रो ब्याचका २६ विद्यार्थीलाई दीक्षित गरिएको हो ।

बिरामीहरूलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका अतिरिक्त स्वास्थ्य विज्ञानको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने समेत उद्देश्यले २०७२ माघ १२ देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएको उपकुलपति डुकबहादुर क्षेत्रीले जानकारी दिए ।

अहिलेसम्म प्रतिष्ठानमा एमडी(एमएस, एमबिबिएस तथा नर्सिङतर्फ बिएनएस र बिएस्सी नर्सिङ कार्यक्रममा अध्ययन अध्यापन हुँदै आइरहेको छ । स्नातकोत्तर तहको एमडी र एमएस कार्यक्रमको लागि विभिन्न ६ वटा विभागमा १७ सिट निर्धारण भई अध्यापन सुरु भएको थियो । प्रतिष्ठानको स्नातकोत्तरतर्फ विभिन्न १० वटा विभागमा कुल ९१ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

स्नातकतर्फ १ सय ७१ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । पहिलो दोस्रो ब्याचमा दीक्षित हुने ४३ जना विद्यार्थीलाई विश्वप्रख्यात विश्वविद्यालय कारोलिन्स्का इन्स्टिच्युटका प्राध्यापक माग्नुस वेस्टग्रेन र कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दीक्षित गरेका छन् ।

अध्यापनको लागि प्राज्ञिक जनशक्तितर्फ सम्पूर्ण विधामा अहिलेसम्म १ सय ८८ जना प्राध्यापक प्रतिष्ठानमा कार्यरत छन् । विद्यार्थीलाई दीक्षित गरेपछि प्रधानमन्त्री तथा कुलपति ओलीले देशमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्नु गलत भएको बताउँदै देशले धेरै कुरामा फड्को मारेको बताए । सरकारले स्वास्थ्य र शिक्षाको क्षेत्रमा गम्भीर भएर काम गरिरहेको उनको दाबी छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अहिलेको मुख्य चुनौती नै दक्ष जनशक्ति कसरी देशमै टिकाउने भन्ने भएको बताउँदै यहीँ सेवा गर्न आग्रह गरेका छन् ।


धेरै पढिएको