एसईईको तयारी पूरा:  ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै

नवनारी
२९ फागुन २०८१
247 Views

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ । ‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ। सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण भएको छ,’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने ।

पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ। परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए । परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ ।

सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ । यस पटकको एसईईमा सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । नियन्त्रक पौडेलका अनुसार, काठमाडौं र दैलेखका दुई कारागारबाट विद्यार्थीले एसईई दिनेछन् । यस्तै, भक्तपुरको सुधार गृहबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
यस्तै, यस वर्षको एसईईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुँदै छन् । सो विद्यालयबाट चारजना एचआईभी संक्रमित विद्यार्थीले एसईई दिने नियन्त्रक पौडेलले जानकारी दिए । यस वर्षको एसईईको नतिजा लेटर ग्रेडिङ सिष्टम अनुसार नै हुनेछ, जुन गत वर्षदेखि लागु भइसकेको छ । परीक्षा चैत १९ सम्म सञ्चालन हुने तालिका छ ।


धेरै पढिएको